मकाउदेखि ‘रेमिट्यान्स’ पठाउने व्यवस्था गरिदिन सरकारसँग माग

मंगलबार, माघ १७, २०७९

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । 

मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको हो ।

पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ । एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको छ । 

नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट राहदानी लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदार समस्यामा परेको एनआरएनए मकाउको गुनासो छ ।
 
एनआरएनए मकाउले नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ । त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्