गोलभेँडाबाटै मनग्ये आम्दानी गर्दै रुरुक्षेत्रमा दाजु–भाइ

शनिबार, फागुन १३, २०७९

रेसुंगा– गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर)बाटै मनग्ये आम्दानी गर्दै आएका छन् । कमल र कपिल ज्ञवाली दाजु–भाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन् ।

दुई दाजु–भाइसँगै घरपरिवारका सबै मिलेर व्यावसायिक कृषिमा लागेका छन् । उनीहरूले अहिले दाजु–भाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन् । ज्ञवाली परिवारका ६ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन् । उनको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ । उनको फार्मबाट हाल प्रतिकिलो रु ७० देखि ७५ मा गोलभेँडा बिक्री हुन्छ । मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए ।

व्यवसायको सुरवाती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिकरुपमा रु एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए । ‘हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ,’ उनी भन्छन्, ‘खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक÷दुई लाख आम्दानी हुन्छ,’ उनले भने । लगातार मेहनत गर्नेहरू व्यावसायिकरुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ ।

दाजु–भाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा रु चार लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको जानकारी दिए । 

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो । साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषितसमेत भएका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्