छायामा रत्नपार्क–खुलामञ्च

आज माइतीघरमा के छ ?

सोमबार, माघ १६, २०७९
सोमबार, माघ १६, २०७९

काठमाडौँ– अधिकांश मिडियाले प्रत्येक दिन बिहान रिपोर्टिङ मिटिङ राख्छन् । मिटिङमा आज के–कस्ता कार्यक्रम छन्, क–कसले के–के विषयमा समाचार तयार पार्ने, आजका मुख्य विषयवस्तु के–के हुन् जस्ता विषयमा छलफल हुन्छ ।

रिपोर्टिङ मिटिङमा सञ्चार संस्थाको विधा र सो दिनका मुख्य विषयवस्तुअनुसार फरकफरक विषयमा बढी समय चर्चा हुन्छ । तर, अहिले अधिकांश मिडियाका फोटो पत्रकारसँग रिपोर्टिङ मिटिङको नेतृत्व गरिरहेका सम्पादक वा समाचार सम्पादकले गर्ने एउटै र साझा प्रश्न हो– आज माइतीघरमा के छ ?

अचेल माइतीघर मण्डलामा दैनिकजसो केही न केही विषयमा विरोध प्रदर्शन हुने गरेको छ । माइतीघरमा साना–ठुला हरेक विषयमा प्रदर्शन भइरहनु कुनै नौलो विषय हुन छाडेको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल (अहिलेका प्रधानमन्त्री), माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू ‘हामी यहाँ छौँ’ भन्दै चकटी ओछ्याएर माइतीघरको सडकमा बसेका थिए ।

रौनक छैन रत्नपार्कको

२०६२/६३ को जनआन्दोलन अघिसम्म माइतीघर मण्डला खासै चर्चामा थिएन । आन्दोलनका लागि सबैभन्दा उर्बर स्थान रत्नपार्क–खुलामञ्च थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हत्याएको विरोधमा पनि दलहरूले रत्नपार्कमै आन्दोलन गरेका थिए । 

रत्नपार्कमा आन्दोलन गर्नेहरूलाई तत्कालीन राजा ज्ञानेन्द्रले ‘विदेशी पैसाको बलमा केही मान्छे रत्नपार्कमा कराउँदैमा...’ भनेर रत्तपार्कको नाम लिएका थिए । सो आन्दोलनको मुख्य केन्द्र नै रत्नपार्क थियो ।

२०४६ सालको आन्दोलनको केन्द्र पनि रत्नपार्क नै थियो । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि राजनीतिक दलहरूले रत्नपार्कको खुलामञ्चमा नै आमसभा गरेका थिए भने माओवादीले सशस्त्र विद्रोह छाडेर शान्ति प्रक्रियामा आएपछि पनि पहिलो आमसभा रत्नपार्कको खुलामञ्चमा नै गरेको थियो । तर, अहिले खुलामञ्च छैन, बन्दमञ्च भएको छ ।

वरिष्ठ पत्रकार किशोर नेपाल  रत्नपार्क ‘बीचको एक समय’ मात्रै आन्दोलनको मुख्य केन्द्र भएको बताउँछन् । पहिला आन्दोलनको केन्द्र नयाँ सडकको पिपल बोट भएको र पछि रत्नपार्क पनि त्यस्तै केन्द्र बनेको उनले बताए ।

‘पहिला आन्दोलनको केन्द्र रत्नपार्क थिएन, नयाँ सडकको पिपलबोटमा मान्छेहरू भेला भएर आन्दोलन गर्थे । अस्कल, त्रिचन्द्र र टियु पढ्ने विद्यार्थीहरू भेला हुने, कवि, कलाकार, पत्रकारहरू पनि त्यहीँ भेला हुने र परिवर्तनको पक्षमा आवाज उठाउने गरेका थिए,’ नेपालले भने ।

भूगोल पार्कमा इन्दिरा रेस्टुरेन्ट रहेको र त्यो रेस्टुरेन्टमा १ रुपैयाँ ५० पैसामा बिगपट चिया पाइने गरेको रमाइलो किस्सा पनि उनले सुनाए ।

‘बेलुका ४ बजेपछि पिपलबोटको चौतारोमा मेला लाग्थ्यो, चौतारामा चढेर कसैले ‘साथीहरू !’ मात्रै भनिसक्दा पुलिसले उसलाई समाइसकेको हुन्थ्यो, सिआइडीहरू पनि घुमिरहेका हुन्थे, यो कुरा पञ्चायतकालको हो,’ नेपालले भने ।

अनि केन्द्र बन्यो रत्नपार्क

एकातिर पञ्चायतविरुद्ध आन्दोलन चर्किंदै थियो भने अर्कातिर सहर थप फराकिलो हुँदै थियो । त्यस्तैमा तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठन अखिल छैटौँले रत्नपार्कको रातो घर भाडामा लियो ।

पत्रकार नेपालका अनुसार त्रिचन्द्र कलेज र ललितकला क्याम्पस पढ्ने विद्यार्थीहरू पनि रत्नपार्कमा भेला हुन थाले । 

‘नयाँ सडकबाट आएको जुलुस रत्नपार्कमा आइपुगेर एकीकृत हुन थाल्यो, त्यसो हुँदा राजनीतिको केन्द्र रत्नपार्क जस्तो भयो । अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रहेको ठाउँमा सर्वाेच्च अदालत थियो,’ नेपालले सुनाए ।

सर्वाेच्च अदालत सरेर रामशाह पथ आयो । त्यसपछि रत्नपार्कमा प्रहरी कार्यालय स्थापना भयो, जहाँ अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालय छ । प्रहरी कार्यालय भएको ठाउँमा सरकार विरोधी गतिविधि गर्न समस्या हुन थाल्यो । तर पनि दोस्रो जनआन्दोलनको समयसम्म राजनीतिक गतिविधिको केन्द्र रत्नपार्क नै थियो ।

गणतन्त्र स्थापना भएपछि भने रत्नपार्कमा राजनीतिक गतिविधि हुन छोडेको छ । 

हाइड पार्कको स्पिकरको कुनोमा गएर जसले जसलाई पनि गाली गर्न पाइन्छ, त्यसैको सिको गरेर नेपालमा पनि विरोध प्रदर्शन गर्न पाइने ठाउँ तोक्ने अभ्यास भयो । यो गलत हो ।

‘माइतीघर मण्डलामा गएर आन्दोलन गर्‍यो भने सबैले देख्छन्, सुन्छन् भन्ने लाग्दो हो । तर, नागरिकलाई महत्व नदिने अहिलेका शासकले शान्तिपूर्ण रूपमा गरेको आन्दोलन देख्ने र सुन्ने कुरा भएन,’ पत्रकार नेपालले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेल सिंहदरबार वरिपरि निषेधित क्षेत्र घोषणा गरिएपछि माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने गरेको अनुमान गर्छन् ।

‘सिंहदरबार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ, माइतीघर मण्डला निषेधित क्षेत्र होइन, त्यसैले त्यहाँ विरोध प्रदर्शन हुने गरेको हुन सक्छ,’ प्रवक्ता पोखरेलले भने ।

यद्यपि, उनले माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने गरेको भए पनि सडक अवरुद्ध भने हुने नगरेको दाबी गरे ।

विराेध प्रदर्शनका लागि ठाउँ तोक्ने प्रयास

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल साउन १ गतेदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाभित्रका निश्चित ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने नीतिगत व्यवस्था गरेको थियो । 

सरकारले काठमाडौँ जिल्लामा ७ स्थानमा, ललितपुरमा ६ स्थानमा र भक्तपुरमा १ स्थानमा गरी १४ स्थानमा मात्रै विरोध प्रदर्शन गर्न पाइने व्यवस्था गरेको थियो ।

सरकारका अनुसार काठमाडौँमा खुलामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद्अगाडिको खुला स्थान, गौशालाको सिफल चौर र भुइँखेल, भगवान् पाउमा मात्रै विरोध प्रदर्शन गर्न पाइने भनिएको थियो ।

यस्तै, ललितपुरका लागि च्यासल खेल मैदान, बज्रबाराही मन्दिरअगाडिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैँसेपाटी च्यासीकोटको खुला स्थान, लुभू ससमुच लामाटार र धोबीघाट मुहान पोखरीको छेउलाई विरोध प्रदर्शन गर्न पाइने ठाउँ भनिएको थियो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा विरोध प्रदर्शन गर्न पाइने भनिएको थियो ।

वरिष्ठ पत्रकार नेपाल प्रदर्शन गर्न ठाउँ तोक्ने कार्य गलत भएको बताउँछन् । बेलायतको हाइड पार्कको सिको गरेर नेपालमा पनि प्रदर्शनको ठाउँ तोक्ने अभ्यास भएको र सो गलत भएको उनको भनाइ छ ।

‘हाइड पार्कको स्पिकरको कुनोमा गएर जसले जसलाई पनि गाली गर्न पाइन्छ, त्यसैको सिको गरेर नेपालमा पनि विरोध प्रदर्शन गर्न पाइने ठाउँ तोक्ने अभ्यास भयो । यो गलत हो, आन्दोलन गर्न वा विरोध प्रदर्शन गर्न ठाउँ तोक्नु हुँदैन,’ नेपालले भने ।

सडक छेक्नेलाई ३ वर्ष कैद

मुलुकी अपराध संहिता ऐन, २०७४ ले सडक छेक्न नहुने कानुनी व्यवस्था गरेको छ । सो ऐनको दफा ६७ मा सार्वजनिक बाटो छेक्न नहुने र छेक्ने वा छेक्न लगाउनेलाई ३० हजार रुपैयाँसम्म जरिमाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यद्यपि, यो व्यवस्था अहिलेसम्म कार्यान्वयन भने भएको छैन ।
kanun1675082080.jpg

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार