आज बसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरि देशभर मनाइँदै

बिहीबार, माघ १२, २०७९

काठमाडौँ– आज १०७९ माघ १२ गते बसन्त पञ्जमी अर्थात सरस्वती पूजा । अर्थात्, श्री पञ्चमी । विद्याकी देवी  सरस्वतीको पूजा तथा आराधना गरि देशभर मनाइँदैछ । आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन पनि हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।

आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ । वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् ।

यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ ।

विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रङ्गिन पोसाकमा विद्यार्थीहरूको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ । काठमाडौँमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरी धाराको नील सरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ ।

पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रूपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।

नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठुलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दु धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्तः कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्