मन्त्रिपरिषदको निर्णय

दर्ता भएका क्रसर उद्योगहरु खोल्न दिने सरकारको निर्णय

बुधबार, माघ ११, २०७९

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले दर्ता भएका क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले दर्ता भएका क्रसर उद्योगहरुलाई थप नियमन गर्दै क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार मन्त्रिपरिषद् बैठकले दर्ता भएका क्रसर उद्योगहरुलाई थप नियमन गर्दै क्रसर उद्योगहरु खुल्न दिने निर्णय हाे । तर, असारसम्म पनि मापदण्ड पुरा नभएका क्रसर उद्योग पुनः बन्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।

पाण्डेका अनुसार विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने छ । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुने प्रेस संयोजक पाण्डेले बताए ।

त्यस्तै, अन्य क्रसर उद्योगकाे हकमा  मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका क्रसर उद्योगहरु चल्न दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाे छ ।

गत २० पुसमा गृह मन्त्रालयले दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्