स्पट फिक्सिङ’ मा ४ नेपालीसहित १० जना संलग्न रहेको पुष्टि

मंगलबार, माघ १०, २०७९

काठमाडौँ –भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा नेपालमा भएको टी–२० लिगमा ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ मा नेपाली र विदेशीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी १ जना नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको छ । 

‘स्पट फिक्सिङ’मा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेका थिए । जनकपुर रोयल्समा आबद्ध २० वर्षीय आदिलले ‘स्पट फिक्सिङ’ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेका थिए ।

त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जनाएको छ ।

६ जना विदेशीमध्ये ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना बाहिरी व्यक्ति ‘स्पट फिक्सिङ’ र ‘लाइभ बेटिङ’मा संलग्न देखिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । 

सीआईबीले विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत ‘स्फट फिक्सिङ’मा संलग्न भएको तथ्य र आधार फेला पारेको हो ।

प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

 

 


 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार