साउदीले आफ्नै नागरिकलाई प्राथमिकता दिएसँगै घट्यो नेपालको श्रमिक कोटा

सोमबार, माघ ९, २०७९

काठमाडौँ– २०२३ मा साउदी अरबको श्रम, रोजगार तथा व्यवस्थापन मन्त्रालयले ‘समृद्धिका लागि देशभित्र रोजगारी’ भन्ने स्किम ल्याएको छ । 


साउदीले ल्याएको यो स्किम आप्रवासी श्रमिकको सट्टामा आफ्ना नागरिकलाई रोजगारीमा ल्याउने रणनीति भएको साउदी गजेट पत्रिकाको एक रिपोर्टमा उल्लेख छ । 


साउदीले सन् २०२२ मा मात्रै १ लाख ८८ हजार आफ्ना नागरिकलाई आन्तरिक रोजगारीमा प्रवेश गराएको थियो । जसमध्ये दैनिक १ हजार ३०० जना स्थानीय नागरिक आफ्नै घरनजिकको रोजगारदाता कम्पनीको रोजगारीमा जोडिन थालेको साउदी राष्ट्रिय रोजगारी सिर्जना नीतिको प्रतिवेदनलाई उद्धृत गदै साउदी गजेट पत्रिकामा उल्लेख छ ।


उक्त रिपोर्टमा सन् २०२१ को तुलनामा २०२२ मा स्थानीयलाई रोजगारीमा जोड्ने क्रम ५.४५ प्रतिशतले बढेको रिपोर्टमा जनाइएको छ ।


अहिले दैनिक ५०० भन्दा धेरै महिला रोजगारीमा जोडिन थालेको पत्रिकामा भनिएको छ । गत शनिवार सार्वजनिक गरेको रिपोर्टमा साउदीका नागरिक स्थानीय रोजगारीमा रमाउन थालेको समेत बताइएको छ । रोजगारीमा जोडिने महिलाको सङ्ख्या उल्लेख्य छ ।
साउदीमा अहिले २५ वटा देशका करिब १ करोड २० लाख आप्रवासी श्रमिक रहेको साउदीकै अध्यागमन विभागको तथ्याङ्क छ । साउदीले २०२५ सम्म विदेशी श्रमिकको सङ्ख्या ३५ प्रतिशत घटाएर आफ्नै नागरिकलाई रोजगारी दिने लक्ष्य ५ वर्षीय आर्थिक विकास कार्यक्रममा राखेको छ । 


साउदी अरबले देशको अर्थतन्त्र बलियो बनाउन पनि आप्रवासी श्रमिकमाथिको निर्भरता कम गर्ने नीति अघि सारेको छ । साउदीले आफ्नो देशभित्र रोजगारी गर्ने इच्छा भएका नागरिकलाई भत्तासहित १ वर्ष तालिमसमेत दिने गरेको छ । 


पछिल्लो समय साउदीका हरेक रोजगारदाता कम्पनीले साउदीका नागरिकलाई उच्च पदमा ३० देखि ३५ प्रतिशत कोटा छुट्याउन थालेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । 


२ वर्षयता साउदीमा कलकारखाना, उद्योग, उत्पादन, सपिङ मल र अन्य क्षेत्रका उच्च पदमा ४० प्रतिशत साउदीकै नागरिकलाई प्राथमिकता दिन थालिएको छ ।


यो नियम लागू हुँदै गएपछि विदेशी कामदारलाई कम कोटा साउदीका रोजगारदाताहरूले छुट्याउन थालेको उनले बताए ।

 
‘साउदीबाट अहिले श्रमिकको माग आए पनि धेरै नै कटौती हुन थालेको छ । जसका कारण साउदी जाने श्रमिकको सङ्ख्या बिस्तारै घट्दै जाने छ । यसले पनि वैदेशिक रोजगारी क्षेत्रमा असर पर्छ,’ उनले भने, ‘पछिल्लो समय साउदी नागरिकको आफ्नै देशभित्र रोजगारीमा आकर्षण बढेसँगै अन्य देशको रोजगारी गरेको हो । यो साउदीको राष्ट्रिय नीति भएका कारण रोजगारी व्यवसाय मारमा पर्छ भन्न मिल्दैन ।’


साउदीले विदेशी कामदारको कोटा कटौती गर्दै जान थाले यसको विकल्पमा नयाँ रोजगारदाता देश खोज्नुपर्ने उनको भनाइ छ । 
२०२० देखि साउदीले आप्रवासी श्रमिकमाथि दीर्घकालीन निर्भरता हटाउने लक्ष्य लिएको थियो । उक्त लक्ष्यअनुसार बङ्गलादेश, पस्कितान र श्रीलङ्काका श्रमिकको माग साउदी सरकारले कटौती गर्न थालेको साउदी श्रमिक पठाउँदै आएका म्यानपावर व्यवसायीहरू बताउँछन् । 


कोरोना महामारीपछि साउदी रोजगारीमा गएका नेपाली कामदार समस्यामा पर्ने थालेको वैदेशिक रोजगार विभागले जनाएको छ । 
साउदीमा अलपत्र परेका नेपाली कामदारलाई त्यहाँका कम्पनीले परिचयपत्र (अकामा) नबनाइदिने, समयमा तलब नदिने, खाने–बस्ने राम्रो सुविधा नदिने, स्वदेश फर्किन टिकट नदिने र करार पत्र रद्द गरिदिने समस्याको उजुरी आइरहेको विभागले जनाएको छ । 
रोजगारीका लागि साउदी अरब गएका नेपाली श्रमिक धेरै समस्यामा पर्ने गरेका छन् ।


गत आर्थिक वर्षमा १ लाख २० भन्दा बढी नेपाली युवायुवती रोजगारीका लागि साउदी पुगेको विभागको तथ्याङ्क छ । 
चालु आर्थिकको सुरुको ५ महिनामा ५० हजार नेपाली साउदी पुगेको विभागले जनाएको छ । हाल साउदीमा करिब ४ लाख नेपाली कार्यरत रहेको विभागको अनुमान छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्