नेभिगेशन
पूर्वाधार

जसले प्रहरीको आकर्षक जागिर हापेर खनजोत थाले

प्रहरीको जागिर खाइरहँदा सधैँ ‘आफ्नै केही व्यवसाय गनुपर्छ’ भन्ने सोचले लखेटिरह्यो

‘आउँदो पुस्ताको भविष्य कस्तो बनाउने भन्ने कुरा हाम्रो हातमा छ । त्यसैले जे गर्दै छौँ, बुझेर गरौँ ।’

यो भनाइ हो गोविन्द थपलियाको । २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थपलियाले २०५७ सालमा प्रहरी नायब उपरीक्षक (डिएसपी) पदबाट राजीनामा दिए । प्रहरी सेवाको आकर्षक जागिर छाडेकामा उनको परिवार नजिकका आफन्त, साथीभाइ अचम्मित भए ।

तिनै थपलिया विगत १४ वर्षदेखि ‘फार्म ग्रो’ नामको कृषि फार्म सञ्चालन गर्दै आएका छन् । उनी अहिले ५६ वर्षका भए । २०६३ सालदेखि काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ११ को खरेलथोकमा ५५ रोपनी जग्गामा थपलियाले कृषि फार्म सञ्चालन गरेका छन् ।

उनलाई प्रहरीको जागिर खाइरहँदा सधैँ ‘आफ्नै केही व्यवसाय गनुपर्छ’ भन्ने सोचले लखेटिरह्यो । त्यसपछि हुँदाखाँदाको जागरि हापेर कृषि कर्ममा लागे ।

‘प्रहरीको जागिर खाँदै गर्दा म पुलिसका लागि बनेको होइन भन्ने सधैँ लागिरह्यो । त्यसैले अरू नै फरक व्यवसाय गर्छु भन्ने सोच बनाएर जागिर छाडेँ,’ उनले भने ।

सुरुमा पति–पत्नी मिलेर सञ्चालन गरेको सो व्यवसायमा हाल उनीहरूका छोराले प िसघाइरहेका छन् । परिवारको साथ र सहयोग र आफ्नो मिहिनेतले आज कृषि पेसाको माध्यमबाट आफूलाई स्थापित गराउन सफल भएको उनको भनाइ छ ।

उनलाई भइरहेको जागिर छोडेर कृषि पेसामा किन ? भन्नेखालका प्रश्न परिवार र आफन्तले पटकपटक गरे । प्रहरीबाट राजीनामा दिएपछि उनले केही वर्ष प्राइभेट कम्पनीहरूमा पनि काम गरे । त्यहाँ उनले प्राइभेट कम्पनीहरूले कसरी काम गर्छन् भनेर सिक्ने मौका पाए ।

‘तर मेरो मन त्यो कामबाट पनि सन्तुष्ट भने हुन सकेन,’ थपलियाले भने मलाई सधैँ म केही फरक व्यवसायका लागि जन्मेको जस्तो महसुस हुने गथ्र्यो, त्यसैले सबै छाडेर यसतर्फ लागेँ ।

परिवालाई सम्झाएर उनले जंगल फाँडेर ५२ रोपनी जग्गा खेतीयोग्य बनाए । सुरुआतमा अनेकौँ समस्या आए पनि बिस्तारै सुधार हुँदै गयो । मिहिनेत र लगानी थप्दै गए । त्यही मिहिनेत र लगनले नै यहाँसम्म ल्याइपुर्‍याएको उनी बताउँछन् ।

कृषिमा लगानी जुटाउन केही रकम उनकै साथमा थियो । नपुग रकम बैंकबाट कर्जा लिएर कृषि कर्मलाई अगाडि बढाएको थपलिया बताउँछन् ।

फार्ममा उनले सिजनअनुसारको तरकारी लगाउँदै आएका छन् भने पशुपालन व्यवसायलाई पनि निरन्तरता दिएका छन् । यहाँबाट उब्जनी भएका तरकारी काठमाडौँका विभिन्न होटल तथा व्यवसायीलाई ब्रिकी गर्ने गरेको उनी बताएँछन् ।

उनको फार्ममा ब्रोइलर, लोकल कुखुरा, कालो कुखुरा, टर्की, बोयर प्रजातिका ब्राखा, बंगुर गाई र भैँसी पालिएका छन् । हाल २० हजार ब्रोइलर कुखुरा, २ हजार लोकल कुखुरा, ४ सय बंगुरका साथै केही गाईभैँसी पनि पालिएको उनी बताउँछन् ।

‘अहिले हामीले पालेका गाईभैँसी र कुखुराको मल आफ्नै खेतीमा प्रयोग गरिरहेका छौँ । सोही मलबाट मौसमी तरकारी उब्जाउँदै आएका छौँ’, उनले भने ।

काउली, बन्दा, मुला, लसुन, प्याज, सिमी, धनियाँ, खुर्सानीलगायत २०÷२५ प्रजातिका मौसमअनुसार तरकारी उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

तरकारीसँगै पशुपालन गर्दा यसमा मुनाफा बढी हुने उनको भनाइ छ । उनले उत्पादन गरेको तरकारीसँगै त्यहाँ उत्पादित मासुसमेत काठमाडौँ सप्लाई हुन्छ ।

‘बिचौलियाको प्रयोगले कस्टमर मारमा पर्ने भएकाले हाम्रो फार्ममा उत्पादन भएको तरकारी बिचौलिया प्रवेश रोकेर सीधै होटलहरूमा बिक्री गर्दै आएका छौँ,’ थपलियाले भने ।

सुरुआती दिनहरूमा तरकारी बजारसम्म लैजान केही अप्ठ्यारो भए पनि अहिले सहज बन्दै गएको उनको अनुभव छ । उनी भन्छन्, ‘म प्रहरी सेवाबाट आफ्नै व्यवसाय गर्छु भनेर आएको हुँ । त्यसकारण हार खाने त कुरै भएन ।’

उनले हाल १३५ जनालाई रोजगारी दिइरहेका छन् । ‘आजको दिनसम्म राम्रै आम्दानी भइरहेको छ । अब यो आर्थिक वर्षदेखि ५० वार्षिक करोड सम्मको कारोबार गर्ने योजना बनाएको छौँ,’ उनले भने ।

‘कृषिमा राज्यले अहिले धेरै लगानी गरेको छ । तर, सो लगानी सही रूपले र सही ठाउँमा प्रयोग भएको छैन । दक्ष जनशक्ति बाहिरिने क्रम बढ्दो छ । अहिले नेपालमा कृषि क्षेत्रमा आधुनीकीकरणको ज्ञान र तालिमको अभावका कारण नेपालको कृषि पेसा पछाडि परेको छ,’ उनको भनाइ छ ।

सरकारले कृषकका लागि ल्याउने नीतिनियमबारे कृषक नै अनभिज्ञ भएका कारण पनि कृषि क्षेत्रमा समस्या आउने गरेको उनको भनाइ छ । नीति–नियमबारे राम्रोसँग बुझाएर दक्ष जनशक्तिलाई यहीँ परिचालन गर्न सकेको खण्डमा देशले आर्थिक क्षेत्रमा ठुलो फड्को मार्ने उनको बुझाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार