Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीमित विकल्पमा माधव नेपालः एक्लै रहलान् कि एकीकरण रोज्लान् ?

सोमबार, पुस १८, २०७९

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर आफू प्रधानमन्त्री बन्दै किनारामै छाडिदिएपछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल अलमलमा छन् । पुस १० मा एक्लै छाडिएका नेपाललाई प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यमा आउन जोडबल गरिरहेका छन् ।

 

आफूसँग सल्लाह नै नगरी बालुवाटारबाट एक्कासी बालकोट पुगेको भन्दै प्रचण्डसँग मन दुखाइरहेका नेपाल सत्ताबाहिरै रहने कि प्रचण्डसँग काँध मिलाएर सरकारमा जाने भन्ने अन्योलमै छन् । 


त्यही अलमलको निकास खोज्न उनले पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए । तर, बैठकले पार्टीको आगामी योजनाका बारेका स्पष्ट दृष्टिकोण दिन सकेन । 


अलमलमा रहेका नेपाललाई स्थायी कमिटी बैठकले दिशानिर्देश गर्न नसकेपछि पोलिटब्युरो बैठकको सहायता खोजेका छन् । 
सोमबारबाट काठमाडौँमा सुरु भएको पोलिटब्युरो बैठकले निकालेको निष्कर्ष केन्द्रीय कमिटीको बैठकमा लगेर छलफल गरिने सम्भावना रहेको एकीकृत समाजवादीका एक नेताले बताए । 


‘स्थायी कमिटी र पोलिटब्युरोको सुझावसहितको एजेन्डामा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने सम्भावना छ । सुझावका लागि मात्रै पोलिटब्युरो बैठक बोलाइएको हो’, ती नेताले भने । 


एकीकृत समाजवादीले पालैपालो विभिन्न कमिटीको बैठक बोलाइरहनुका मुख्य २ उद्देश्य छन् । सरकारमा आउन आग्रह गरिरहेका प्रचण्डसमक्ष नेपालले प्याकेजमै स्पष्ट एजेन्डाको माग गरेका छन् ।्


प्रधानमन्त्रीबाट प्याकेजको प्रस्ताव नआइसकेकाले सोही प्रस्तावको पर्खाइमा सबै तहका कमिटीको बैठक बोलाएर एसले समय लम्ब्याइरहेको छ ।  अर्कातर्फ, पार्टीका सबै तहका कमिटीको सुझावका आधारमा निर्णय गरिएको हो भन्ने सन्देश दिन पनि नेपालले सबै तहका कमिटीको बैठक राख्न खोजेको उनी निकट नेताको विश्लेषण छ ।


‘केही न केही निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्थामा पार्टी नेतृत्व छ । अहिलेसम्मका बैठकहरूबाट सरकारलाई समर्थन गरेरै जानुपर्ने धेरै सुझाव आएको छ । त्यसो हुँदा कमिटीमा छलफल गरेरै निर्णय लिइएको हो भन्ने सन्देश दिन पनि निरन्तर बैठक राखिएको हुन सक्छ’, ती नेताले सुनाए । 


पुस १० यता एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो तहको बैठक आयोजना भइसकेका छन् ।
अर्कातर्फ, नेकपा एमालेका नेताहरूले पनि एकीकृत समाजवादीलाई मूल पार्टीमै फर्कन ताकेता गरिरहेका छन् । त्यस विषयमा कार्यकर्ताको ‘मुड’ बुझ्न पनि नेपालले निरन्तर बैठक बोलाएका हुन सक्छन् । 


एमाले नेताहरूले समाजवादीका नेता मुकुन्द न्यौपानेमार्फत् संवाद थालेका छन् । यसबारे जानकार समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएका कारण एमाले नेताहरूले उहाँमार्फत् संवाद अघि बढाएका थिए ।’


पछिल्लो समय न्यौपाने पनि नेकपा एमालेसँग एकीकरण गरेर अघि बढ्नुपर्ने पक्षमा प्रस्तुत भइरहेका छन् । तर, झलनाथ खनाल समूह भने अहिल्यै एकतामा गइहाल्न नहुने तर्क गरिरहेको छ ।


अध्यक्ष नेपालले भने कसरी अगाडि बढ्ने स्पष्ट लाइन दिएका छैनन् । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएदेखि नै नेपालले मझधारमा रहेर आफ्ना कुरा राखिरहेका छन् ।  सोमबार सुरु भएको पोलिटब्युरो बैठकमा पनि उनले स्पष्ट कुरा राखेनन् । बरु कसैलाई आरोप–प्रत्यारोप गरेर जाने अवस्थामा आफूहरू नरहेको नेपालले बताए ।


एकीकृत समाजवादीलाई एमालेमा फर्काउने प्रयासबारे चर्चा हुन थालेपछि एमालेका मुख्य गरी पार्टी अध्यक्ष केपी ओली खेमाका नेताहरू आक्रोशित छन् । उनीहरू माधव नेपाललाई कुनै हालतमा पार्टीमा फर्काउन नहुने तर्क गर्छन् । तर, एमालेकै पदाधिकारी तहका नेताहरू भने एकीकृत समाजवादीलाई पार्टीमा फर्काउन सक्दा एमालेको राजनीतिक शक्ति बढ्ने र संसद्मा पहिलो दलका रूपमा स्थापित हुने बाटोमा जान सकिने भन्दै नेपालसँगै संवाद गरिरहेका छन् । 


यी सबै सम्भावनाबीच माधव नेपालले पार्टी र आफ्नो ‘सेफ ल्यान्डिङ’को सुरक्षित उपाय हेरिरहेका छन् । एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘माधव नेपालले अब पार्टीको भविष्य देख्नुभएको छैन । त्यसो हुँदा ‘सेफ ल्यान्डिङ’को विकल्प हेरिरहनुभएको छ ।’


रिमालले दाबी गरेजस्तै ‘सेफ ल्यान्डिङ’को बाटो खोजेको हो भने नेपालसँग केही सीमित विकल्प मात्रै छन् । एउटा विकल्प, अहिलेका लागि सरकारलाई समर्थन गरेर सत्तारुढ दल बन्ने र क्रमशः एमालेसँग सहकार्य गर्दै एकीकृत हुने । एमालेसँग एकीकरण सम्भावना नहुँदा माओवादी केन्द्रसँग पनि उसको एकीकरणको सम्भावना छ ।

 

चुनावअघि नै दुवै दलले एकीकरणका लागि छलफल गरेका थिए । एकीकृत समाजवादीले त सचिवालय बैठकबाट पार्टी एकीकरणबारे छलफलका लागि समिति नै बनाएको थियो । पछि पार्टीमै विवाद भएपछि महासचिव वेदुराम भुसालले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेका थिए । 


तेस्रो विकल्प, अहिले राजनीतिक वृत्तमा चर्चामा रहेको जस्तो माधव नेपाललाई राष्ट्रपति बनाउने र एकीकृत समाजवादीलाई एमालेमै विलय गराउने । तर, यो त्यति सजिलो विकल्प भने होइन । यो विकल्पका बारेमा एकीकृत समाजवादीभित्रै विरोधाभाष छ ।

 

एकीकृत समाजवादीका लागि चौथो र अन्तिम विकल्प हो, प्रतिपक्षमा बस्ने र पार्टी निर्माणमा लाग्ने । संसद्मा १० सिटको मात्रै शक्ति भएका कारण उसको प्रतिपक्षी भूमिका त्यति प्रभावकारी नहुन सक्छ । बलियो प्रतिपक्षी दल नहुँदा त्यसले पार्टी निर्माणमा पनि खासै योगदान पुग्दैन । 


एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘हामी सबै  विकल्पमा खुला छलफल गरिरहेका छौँ । पार्टीका सबै तहको कुरा सुनेर निष्कर्षमा पुग्छौँ ।’ यतिबेला राजनीतिक वृत्तमा एकीकृत समाजवादीले कुन विकल्प रोज्ला भन्ने चासो व्यापक छ ।

 

प्रधानमन्त्रीले पुस २६ मा संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् ।

 

त्यसबेलासम्म एकीकृत समाजवादी पार्टी र माधव नेपालको आगामी गन्तव्य निक्र्योल भइसक्ने छ । त्यसबेलासम्म उनले सत्तारुढ दलभन्दा बाहिर एक्लै रहने कि कुनै पार्टी वा सत्तासँग एकीकृत भएर जाने निर्णय गरिसक्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्