Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

बिहीबार, मंसिर १५, २०७९

म्याङ्लुङ—तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे । उनले छ महिना जति पढिन् पनि। तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।  

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिनन् र उनी घर फर्किन् । 

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए। बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भइन् । उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भएकी थिइन् । 


विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन् । उहाँको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन  पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।” 

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उनको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बनिन् । विसं २०५४ मा उनी नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बनिन्

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव भएकी थिइन् । लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य भइन् ।  

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य भएकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन्। उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन् । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन् ।

 तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन् । उनी  २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन्। दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैछिन् । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाएका थिए । 

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उनले भनिन् । “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले उल्लेख गरिन् । रासस
–––

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्