लिङ्देन उदयले दिएको संकेत

बुधबार, मंसिर १४, २०७९

काठमाडौं – नयाँ संविधान जारी भएपछि दोस्रो पटक सम्पन्न भएको संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मत परिणाम संविधानले परिकल्पना गरे जस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरकै पल्लामा देखिएको छ । निर्वाचनमा गणतन्त्रकै नेतृत्वकर्ता भने पराजित भएका छन् ।

नेतृत्व तहका आन्दोलनका अगुवा नेताहरू पराजित हुँदा व्यवस्थालाई उल्टाउनु पर्छ भन्नेहरू भने निर्वाचित भएका छन् । हाल सम्मको मत परिणाम अनुसार गणतन्त्रवादीको पक्षमा  करिब ९५ प्रतिशत जनमत देखिएको छ भने राजतन्त्रको मुद्दा बोक्ने राप्रपाको पक्षमा मुस्किलले पाँच प्रतिशतको हाराहारीमा जनमत देखिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न भन्दै एउटा पक्ष निर्वाचनमा होमिएको थियो भने राजा सहितको हिन्दु राष्ट्रको पुनर्स्थापना देखि सङ्घीयता खारेजीको मुद्दा बोक्दै अर्को पक्ष पनि चुनावी मैदानमा होमिएको थियो । यस्तोमा दुवैको मुद्दाको नेतृत्वकर्ता भने एकै निर्वाचन क्षेत्रमा चुनाव लड्न पुगे ।  

झापा क्षेत्र नं ३ मा जनताले गणतन्त्र स्थापना गर्न सबै भन्दा महत्वपूर्ण भूमिका खेलेका कृष्ण सिटौलाको अलावा राजतन्त्रका प्रखर अनुयायी राजेन्द्र लिङदेनलाई विजय बनाए । लिङदेनलाई एमालेको समर्थन थियो भने सिटौलालाई पाँच दलिए सत्ता गठबन्धनको । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी हुँदा सिटौलाले जम्मा ३७ हजार तीन सय ८६ मतमै चित्त बुझाउनु पर्‍यो । २०७४ सालको निर्वाचनमा पनि सिटौला लिङ्देनसँगै पराजित भएका थिए । 

निर्वाचनमा एउटाले जित्नु र अर्काले हार्नु  त स्वाभाविक कुरा हो । तर यी दुईको जित हारलाई भने सामान्य उम्मेदवारसँग तुलना गर्ने मिल्दैन । किनकि यी दुईको जित हारले राजतन्त्र र गणतन्त्रको जित हारसँग सरोकार राख्ने धेरैको विश्लेषण छ । राजतन्त्र र गणतन्त्र दुवैका प्रमुख व्यक्तिको हार जितले आन्दोलनका उपलब्धि माथिनै अर्थ राख्ने जानकारहरूको बुझाई छ । 

अघिल्लो निर्वाचनमा जम्मा एउटा मात्रै सिट जितेको राप्रपाले यसपालि प्रत्यक्ष तर्फ सात सिट जितेको छ भने समानुपातिक तर्फ पनि राम्रो सिट सहित राष्ट्रिय दल बन्ने पक्का छ । राप्रपालाई हेर्ने आम मानिसको दृष्टिकोण पनि सकारात्मक हुँदै गएको कुरा त निर्वाचनको मत परिणामले पनि पुष्टि गरेको छ । त्यसैले यसपालिको मत परिणामले कतै गणतन्त्र प्रति देखिएको जनताको निराशा फेरी राजतन्त्र तर्फ नै आकर्षित हुने त होइन भन्ने सङ्केत समेत गरेको छ । यद्यपि जानकारहरूले भने लिङन सिटौलाबिचको चुनावी प्रतिधर्सालाई मात्रै लिएर राजतन्त्र र गणतन्त्रका विषयमा बहस सुरु गरिहाल्न भने हतार हुने टिप्पणी गरेका छन् । 

“पाँच वर्ष अघि मात्रै एक सिट जितेको राप्रपाले, अध्यक्षमा राजेन्द्र लिङदेन आइसके पछि राम्रै प्रगती गरेको छ । अहिले राप्रपा प्रति देखिएको जनमत पार्टीका लागि सकारात्मक हो । तर यो जनमतलाई गणतन्त्रको विरुद्धमा वा राजतन्त्रको प्रगतिमा भन्न मिल्दैन । यो अहिले हट बहसको रुपमा चलेको छैन ।” राजनीतिक विश्लेषक प्रा.डा.प्रेम शर्मा भन्छन् ।

राजतन्त्र र गणतन्त्रका प्रमुख अनुयायीलाई नै बारम्बार एकै ठाउँमा प्रतिस्पर्धा गराइनुले पनि धेरै ठुलो अर्थ राख्छ । सत्ता गठबन्धनको सिट बाँडफाँट समितिको संयोजक हुँदा समेत सिटौलाले सुरक्षित क्षेत्र किन खोजेनन् । उनी आफै झापा क्षेत्र नं ३ रोजे अथवा उनलाई त्यहीँबाट निर्वाचन लड्न उक्साइयो ? त्यो भने खुल्न सकेको छैन ।

किनकि सत्ता गठबन्धन एक भएर निर्वाचन लडेको अवस्थामा कम्तीमा पनि झापामा एमाले राप्रपाको गठबन्धन हुँदै छ भन्ने सबैलाई थाहा थियो र एमाले राप्रपा सहितको गठबन्धनमा सिटौलाको पराजय पनि प्रस्ट देखिएको थियो । 

तर जे होस, कमल थापालाई विस्थापित गर्दै नेतृत्वमा स्थापित भएका लिङदेनले आफू त निर्वाचित भए नै पार्टीलाई पनि नयाँ दिर्शा तर्फ उन्मुख गराएका छन् । आफू नेतृत्वमा आउन साथ राजसंस्था, हिंदु राष्ट्र र प्रदेश खारेजीका मुद्दा बोक्नेहरूलाई पार्टीमा समाहित गरेका उनले आगामी दिनमा राप्रपालाई अझै सशक्त  र परिपक्व बनाएर लैजाने रणनीति तय गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्