अनुप स्मृति गोल्डकप फुटबलको तेस्रो संस्करण पुस दोस्रो साता

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विसं २०६९ जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको स्मृतिमा आगामी पुस १८ देखि २४ गतेसम्म गोल्डकपको तेस्रो संस्करण आयोजना गरिएको हो । दिक्तेलको माटीकोरे खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः रु दुई लाख एक हजार एक सय ११ र रु एक लाख एक हजार एक सय ११ नगदका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दुई सेमिफाइनलिष्ट दुई टोलीले नगद रु २५–२५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिए। यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टोली प्रशिक्षकले नगद रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टोलीले नगद रु पाँच हजार पाँच सय ५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमार्फत जनाइएको छ । मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद रु सात हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद रु दुई हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु २४ लाख ५२ हजार छ सय ५२ खर्च लाग्ने अनुमान गरिएको सहसंयोजक सगुन ताम्राकारको भनाइ छ । विसं २०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ वैशाख २६ देखि ३१ गतेसम्म दोस्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोस्रो संस्करण प्रत्येक वर्ष गरिए पनि विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण तेस्रो संस्करण लम्बिएको हो । अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बी’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दुर्घटनामा ज्यान गुमाएका छात्र अनुपको सम्झना र खेल र खेलाडीको व्यावसायिक विकासका लागि गोल्डकपको अवधारणा अघि सारिएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्