सन्दीप क्यानको सम्पर्क बाहिर

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्क बाहिर रहेका छन् क्यानका सचिव प्रशान्तविक्रम मल्लले सुरुमा सन्दीपले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न र राम्रो वकिल खोज्‍न आग्रह गरे पनि पछिल्लो समय सम्पर्क बाहिर रहेको बताए । ‘‘सन्दीप कहाँ छन् ? के गरिरहेका छन् ? हामीलाई थाहा छैन । पछिल्लो समय फोन पनि लागेको छैन । नेपाल आएर अनुसन्धानमा सहयोग गरे राम्रो हुन्थ्यो भन्ने हाम्रो सोच हो । त्यसले उनलाई पनि फाइदा पुग्छ । आफ्नै परिवारमार्फत् वकिल खोजेर कानुनी सल्लाह गरिरहेको छ भन्ने पनि सुनेका छौं । तर, के भइरहेको छ, क्यानलाई थाहा छैन,’’  मल्लले भने । व्यक्तिवादी मुद्दा भएकोले क्यान यस घटनाबाट बाहिर रहेको पनि मल्लले बताए । ‘‘हामीले कुनै इन्टरफेयर गर्ने कुरो भएन । नेपाल आएर कानुनी लडाइँ लडोस् भन्ने शुभेक्षा मात्र हो । उसलाई नेपाल ल्याउने र खोजी नीति गर्ने निकाय प्रहरी प्रशासन नै हो,’’ मल्लले भने । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेलिरहेकै अवस्थामा आरोप लागेपछि सन्दीप एकाएक सम्पर्कबिहीन भएका हुन् । सन्दीपविरुद्ध भदौ २१ गते एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्