बंगलादेशी महिला फुटबल टिमलाई ५० लाख टाका पुरस्कार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले महिला साफ च्याम्पियनसिपमा पहिलो पटक च्याम्पियन बनेको राष्ट्रिय महिला टिमलाई ५० लाख बंगलादेशी टका पुरस्कार दिने घोषणा गरेको छ । सोमबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३–१ को नतिजामा पराजित गर्दै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । बिसिबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो । बिसिबीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय महिला टिमले उत्कृष्ट प्रदर्शन र ऐतिहासिक उपलब्धिसहित देशलाई नै गौरवान्वित बनाएको छ ।’ ‘हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गर्छु,’ विज्ञप्तिमा भनिएको छ । बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३९
प्रतिक्रिया दिनुहोस्