एएफसी यू–२० एसियन कपमा नेपालको लक्ष्य सान्त्वना जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौं बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आज सान्त्वना जितको लक्ष्यसहित बंगलादेशविरुद्ध खेल्दैछ । यसअघि लगातार तीन खेल हारेको नेपाल बंगलादेशविरुद्ध आज पहिलो जितको खोजीमा हुनेछ । नेपालको खेल शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० ले हारेको थियो । बंगलादेशले पहिलो खेलमा बहराइनलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । बंगलादेश तेस्रो खेलमा कतारसँग ३–० ले पराजित भएको थियो । आज समूह ‘बी’को शीर्ष स्थानमा रहेको कतार र बहराइन पनि खेल्दैछन् । कतारले बहराइनलाई हरायो र बंगलादेशले नेपाललाई हरायो भने बंगलादेशको गणतीय सम्भावना कायम रहन्छ । त्यसकारण आज बंगलादेश कुनै पनि हालतमा जित्न चाहन्छ । समूह ‘बी’मा कतार ९ अंकका साथ शीर्ष स्थानमा छ भने बहराइनले ७ अंक जाडेको छ । बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा छ । भुटानले तीन अंक जोडेको छ भने नेपाल अंकविहीन रहँदै समूहको पुछारमा छ । दश समूहका विजेता टोली र उत्कृष्ट पाँच उपविजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउनेछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्