मिडिया हबलाई विश्वकप फुटबल देखाउने एकाधिकार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–आगामी २० नोभेम्बरबाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ को नेपालमा मिडिया राइट मिडिया हबले पाएको छ । मिडिया हबले विश्वकप देखाउने अधिकार आफूहरुले प्राप्त गरेको जानकारी दिएको हो । कम्पनीका अध्यक्ष सोमप्रसाद धितालले विश्वको सर्वाधिक लोकप्रिय विश्वकप फुटबलको नेपालको भू–सतही, स्याटलाइट, डिटिएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार प्राप्त गरेको जानकारी दिए । नेपालमा विश्वकप फुटबल कतार २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपिको सम्पूर्ण अधिकार मिडिया हब प्रालिमा मात्रै सीमित रहेको धितालले बताए । कार्यक्रममा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरू एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेसन्स प्रालिसँग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । दुबै संस्थाहरूसँग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट अध्यक्ष धितालले हस्ताक्षर गरेका थिए । भायानेटका निर्देशक विनय बोहरा तथा एनआईटिभी स्ट्रीम्जतर्फबाट अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार दुई कम्पनीमार्फत टेलिभिजन लाइन लिएका नेपाली दर्शकहरूले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न सक्ने छन् । त्यसैगरी विज्ञापन विक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रालि मार्केटिङ पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर भएको छ । एडप्याडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्