साफ महिला फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

बुधबार, मंसिर ७, २०७९
काठमाडौ–साफ महिला च्याम्पियसिपअन्तर्गत आज दोस्रो सेमिफाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदानमा उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ । यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए । बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो । डेंङ्गीको कारण टोली बाहिर रहेका स्ट्राइकर सावित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतविरुद्ध नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । सावित्राले भुटानविरुद्ध ४–० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् । बंगलादेश र भुटान खेल्दै साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्