भारत बंगलादेशसँग ३–० गोलले पराजित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– साविक विजेता भारत साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशसँग स्तब्ध बनेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको समूह ‘ए’ को अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० गोलले पराजित भयो । साफ महिला फुटबलको इतिहासमा भारतको यो पहिलो हार हो । भारतले साफमा यसअघि खेलेका २५ खेलमा २४ जित र एक बराबरी नतिजा निकालेको थियो । भारत र बंगलादेशले यसअघि सन् २०१६ को साफ च्याम्पियनसिपको समूह चरणमा गोल रहित बराबरी खेलेका थिए । अन्यथा यसअघिका ६ खेलमा बंगलादेश भारतसँग पराजित बन्दै आएको थियो । भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पराजित भारतपनि समूह उपविजेताको रुपमा सेमिफाइनमा पुगेको छ । दुवै टोली यसअघिनै अन्तिम चारमा पुगिसकेका थिए । सेमिफाइनमा बंगलादेशले समूह ‘बी’ को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ । उपविजेता भारतले समूह ‘बी’को विजेता नेपालसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल शुक्रबार हुनेछ । बंगलादेशको जितमा मोसमात सिराज जाहान सोप्नाले दुई गोल गरिन् । अर्को गोल कृष्णारानी सरकारले थपिन्। भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको बंगलादेशले २२औं मिनेटमा खाता खोलेको थियो । सोप्नाले १२औं मिनेटमा गोल गर्दै बंगलादेशको उत्साह जगाए । उनले कृष्णारानी सरकारको पासमा गोल गरेका हुन् । त्यसपछि २२औं मिनेटमा कृष्णरानीले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् । ५३औं मिनेटमा सोप्नाले ब्यक्तिग दोस्रो गोल गर्दै बंगलादेशलाई सजिलै जिताइन् । समूह ‘ए’मा अपराजित बंगलादेशले तीन खेलबाट नौ अंक बनायो । भारतले ६ अंक जोड्यो । यस समूहबाट पाकिस्तान र माल्दिभ्स बाहिरिएका छन् । समूह ‘बी’बाट श्रीलंका बाहिरिएको छ । मंगलबार नै भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोलले हरायो । पाकिस्तानको जितमा नाडिया खानले चार गोल गरिन् । रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल थपेका थिए ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३७
प्रतिक्रिया दिनुहोस्