नेभिगेशन
समाचार

प्रचण्ड भदौमा चीन भ्रमणमा जाने

काठमाडौं - सत्तारुढ साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ आउँदो भदौंमा चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्ड भदौ महिनाभित्र चीन जाने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिन प्रचण्ड चीन जान लागेका हुन् । सम्मेलन भदौ अन्तिम साताका लागि तय भएको स्रोत बताउँछ । माओवादी विदेश विभागका एक सदस्यका अनुसार भ्रमणबारे थप कुरा केहि दिनमा थाहा हुने बताउँछन् ।

एक महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रचण्डसँग भेट्दा चीन भ्रमणको निम्तो दिएका थिए । नेता लिउले दुई देशका कम्युनिस्ट पार्टीबीचको भ्रमण आदान-प्रदानमा जोड दिएका थिए। यद्यपी चिनियाँ कम्युनिस्ट पार्टीले प्रचण्डलाई लिउ आउनु अघि नै छुट्टै निमन्त्रणा पनि दिएको स्रोतको भनाइ छ ।

यसअघि साउन पहिलो साता भारत भ्रमणमा निस्कने क्रममा प्रचण्डले आफू चाँडै चीन भ्रमणमा जान लागेको बताएका थिए । प्रचण्डले छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा जोड दिँदै आएका छन् । हाल पाँच दिने जापानको भ्रमणमा रहेका प्रचण्ड विहीबार स्वदेश फर्कदै छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार