नेभिगेशन
समाचार

सांसदको प्रश्न : एम अधिकारी को हुन् ?

काठमाडौँ - सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सांसद मुसलमानले सदनमा पटक-पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न आवश्यक रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताए ।

सांसद मुसलमानले भने, ‘यो सदनभित्र पटक-पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ । के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौं ? किनभने सदनमा पटक-पटक उठेको विषयमा हामीले जनताको बीचमा गएर के जवाफ दिने हो ? एम अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन । राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै किसान हुन् ? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदा सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्ने थियौँ ।’

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले हरुवाचरुवा र कमलरीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन् । उनले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो । सांसद विशंखेले उनीहरूको पुनर्स्थापनको व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारलाई सचेत गराइन् ।

नेकपा एमालेकी सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलब वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले अन्याय गरेको उनको भनाइ थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गरे । उनले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढङ्गले हुने नगरेको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार