नेभिगेशन
समाचार

देउवालाई भेटेर खनालले भने–स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्छ

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका खनालले स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्ने बताएका हुन् । नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए । गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने खनालको भनाइ थियो । गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ, उनले भने । त्यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनाव अगाडि वाम एकता हुने सम्भावना नरहेको पनि खनालले बताए । सबैभन्दा ठूलो वामपन्थी दल एमालेले एकताका लागि कुनै पहल नगरेको उनको भनाइ थियो ।  'वाम एकताका लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुचि मैले देखिनँ । बृहत् वाम एकताको सम्भावना अहिले छैन', उनले भने ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार