नेभिगेशन
समाचार

लोसपालाई पनि सरकारमा ल्याउने तयारीमा देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक बनेको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ । ‘सरकारमा जाने भन्ने भइसकेको छ । तर ठ्याक्कै यहि दिन भन्ने छैन’, उनले भने, ‘हामीले उठाएको प्रमुख मुद्दा नागरिकता विधेयक हो । राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।’ लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्दा फिर्ता लगायतको शर्त राखेको थियो । ‘महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर थुनामा छन् । सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न सकिने भएन’, लोसपा नेता भन्छन्, ‘फिर्ता लिन सकिने मुद्दाबारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ ।’   लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । थप एक राज्यमन्त्री पनि लोसपाको माग छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताएका छन् । प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरुको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार