बाबु, ए..... बाबु दीपक कतिबेलासम्म सुत्न सकेको ? हेर त ८ बजिसकेछ, सबैजना साथीहरु विदेश गईसके, यसले भने अहिलेसम्म पनि केही गर्ने सोचेको छैन, बुढेसकालको लौरी बन्ला भनेर सोचेको छोरो आफैं, आधा दिनसम्म सुत्ने मात्र, केही नगरी बुढो भईसक्यो ।
दीपक भर्खरै ब्याचलर लेभलमा पुगेको थियो, उसका अधिकांश साथीहरु कक्षा १२ सकेर अष्ट्रेलिया, जापानलगायतका देशमा पुगिसकेका थिए । फेसबुक अनि इन्स्टातिर फोटो अपलोड गर्दा सामाजिक प्रतिष्ठा अनि इज्जत निकै उचो रहने देखिन्थ्यो ।
उसलाई भने नेपालमा नै केही गर्ने रहर थियो, आफैंले जम्मा गरेको पैसाले उसले एउटा ल्यापटप किनेको थियो । त्यसबाट उसले अनलाइनको काम गथ्र्यो र सामान्य आम्दानी पनि गथ्र्यो । उसको भाइ रुपक पनि १२ को परीक्षा सकेर अष्ट्रेलिया गएको छ, विदेशमा उसको आम्दानी राम्रो छ, तर घरमा उसले कलेजको फी र खान बस्न नै गाह«ो र महंगो भएकाले पैसा पठाउन नसकेको जवाफ दिन्थ्यो । जेहोस् परिवार भाइबाट सन्तुष्ट थियो ,जबकी सहकारीबाट २० लाख ऋण लिएर रुपकलाई विदेश पठाइएको थियो ।
समय बित्दै गयो । दीपकले आफ्नो कामलाई निरन्तरता दिईरहेको थियो । आम्दानी मध्यम थियो । सामान्य खर्चहरु उसले व्यवस्थापन गरिरहेको थियो । परिवार भाइको प्रगतिमा अत्यन्तै खुसी थियो । उसले २÷३ महिनाको अन्तरालमा ३–४ लाख रुपैया पठाउने गर्दथ्यो र परिवारको ऋण पनि अब लगभग सकिन आँटेको थियो ।
घरमा सधैभरी दीपकप्रति असन्तुष्टि थियो, किनकी ऊ विदेश गएको थिएन । बुबाआमाको बुझाईमा उसले आफ्नो जीवन बर्बाद मात्र गरेन, परिवारमा ऊ बोझ बन्नेसम्मको काम गरेको थियो । उनीहरु दीपक १२ सक्ने बित्तिकै विदेश गएको भए लाखौ रकम र सम्पत्ति जोड्न सक्ने धारणा राख्थे ।
बाटोमा हिँड्दा छरछिमेकी पनि उसको कुरा काट्थे, किनकी सबैको नजरमा उसले केही गरेको थिएन, नातागोता तथा आफन्त मानिसहरु भेला हुदा दीपकको बारेमा चर्चा हुने गथ्र्यो र सबैजसोले विदेशमा नै जाने र भविष्य राम्रो बनाउन सल्लाह दिन्थे । एकदिन बेलुका रुपकले पठाएको आइ–फोनको स्क्रीनमा देखाउँदै बुबाले भन्न थाल्नुभयो, ‘हेर दीपक, भाइले यति प्रगति गरिसक्यो, घरमा पैसा पनि पठाएकै छ, आफ्नो लाइफ पनि राम्रोसँग चलाएकै छ, तँ भने बेकामे भइस, यस्तो हुतिहारा बनेर जिन्दगीमा बाँच्नु पनि के बाँच्नु ।’ आमाको कचकच त दिनहुँ नै हुने गथ्र्यो, जुन दीपकले पचाइसकेको थियो । तर जब बुबाको कुराको समेत निचोड उसले बुझ्यो, अब उसलाई विदेश नै जानपर्ने रहेछ, नत्र यहा मान्छे नै नगनिने रहेछ भन्ने अनुभुती भयो ।
रुपकले पैसा पठाउन कम गरेको थियो, घरमा भन्दा उसले अन्य कुरामा खर्च बढाउँदै थियो । अर्थात् रुपक विदेशी रमझममा भुल्न थालेको थियो र अनावश्यक क्रियाकलापमा संलग्न हुने गरेको कुरा पनि आक्कलझुक्कल सुनिन्थ्यो । दीपकले पनि ब्याचलर सकेर विदेशमा नै आफ्नो करियर बनाउने सोच्यो र अस्ट्रेलिया जाने चाँजोपाँजो मिलायो । करिब ६ महिनाको अवधिमा ऊ अष्ट्रेलिया उड्यो । परिवारमा अत्यन्तै खुसीयाली छाएको थियो, अस्ट्रेलिया नै भए पनि दाजुभाइको बस्ने राज्य फरक थियो, उनीहरुको भेटसम्म पनि हुन सक्ने अवस्था थिएन ।
२०१९ को अन्त्यतिरको अवस्था थियो, कोभिड–१९ ले विश्वमा नै प्रभाव बढिरहेको थियो । सबैतिर सचेतना अनि सामाजिक दुरी कायम गर्नुपर्ने कुरा व्यापक हुँदै थियो । चीनबाट सुरु भएको यस रोगले नेपाल पनि अछुतो रहन सकेन । २०७७ सालको चैत महिनाबाट नेपालमा लकडाउन भयो, आवतजावत बन्द भयो । सरकारले धेरै कुरामा प्रतिबन्ध लगायो । मानिसहरु एकठाउँबाट अर्को ठाउँमा जान त के घरबाट बाहिर निस्कनसमेत नमिल्ने भयो ।
काठमाडौंको बौद्धमा बस्ने दीपकको बुबाआमा घरबाट बाहिर निस्कन नपाएर निसासिएका थिए । टोल—टोलमा भोकले मानिसहरु पिल्सिएका थिए । छरछिमेकमा कसैलाई रुघाखोकी लाग्नु त महापाप जस्तो भएको थियो । सर्वशक्तिमान कहलिएको अमेरिकामा दिनहु सबैभन्दा धेरै मानिस मरिरहेका थिए । हरेक पल हरेक मानिसमा मृत्युसँग साक्षात्कार भएको भान हुन्थ्यो ।
रुपकले काम गर्ने ठाउँमा पनि कोभिडको कारणले बोलाउन छोडेको थियो, ऊ बेरोजगार भएको थियो । दीपक भने अनलाइन काम गरेर पैसा कमाउँदै थियो, घरमा उसले मनग्य पैसा पठाउन सक्ने भएको थियो, उसको बुबाआमाको इच्छा पुरा भएको थियो । तर अहिले पैसा भन्दा ठूलो कुरा परिवार थियो, जुन फुटेको थियो । दीपकको भाइलाई पनि कोभिड भएको थियो, त्यहा उपचारको प्रवन्ध दीपकले मिलाएको थियो ।
तर पनि उसले आफ्नो भाइलाई भेट्नसमेत सकेन, किनकि उनीहरु फरक राज्यमा थिए । उनीहरु विचमा कुराकानी मात्र सम्भव थियो । संसारका प्रत्येक मानिस आफ्नै निवासमा थुनिएका थिए । उपचारको हरप्रयास केही काम लागेन, दैवको लिला उसले विश्वव्यापी महामारीलाई जित्न सकेन र उसको प्राण कोभिडकै कारणले गयो । उसको लागी परिवारले केही गर्न त सकेन, मरेपछि छोराको लास मात्र प्राप्त गर्न अनेक चिच्याहट गर्दासमेत परिवार असफल भयो ।
छोराको मृत्युको पीडा कम थिएन, यसै घटनाले दीपकको आमाको मानसिक स्थिति बिग्रदै गयो । अस्पतालहरु थिए, तर उपचार थिएन किनकी सबै अस्पतालहरु कोभिड बिरामीले भरिएका थिए । न त घरमा सहयोग गर्न कोही आफन्त आउन सक्थे न त कुनै छिमेकी नै, किनकी लकडाउन मात्र थिएन सबैलाई मर्ने त्रास पनि थियो । त्यो परिवारमा अस्ट्रेलियामै भए पनि त आखिर कोभिड थियो ।
दीपकको बुवाले जसो तसो अस्पताल लैजाने प्रयत्न गरेका थिए तर त्यो सम्भव भएन किनकि न त कसैको साथ थियो न त सर–सहयोग, चाहेर पनि परिवार भन्दा बाहिरको मानिस सम्पर्कमा आउने अवस्था रहेन । भएको एउटा छोरा कोभिडले ज्यान गुमाएको थियो भने अर्को छोरा सुरक्षित रहेर पैसा त पठाउदै थियो तर त्यो पैसाले आवश्यकता पुरा गर्न सकेको थिएन । मानसिक रोग केही समयमा हृदयघातमा परिणत भयो र उनको पनि प्राण जोगाउन सकिएन ।
दीपकको बुवा एक्लै भए, कुनै पनि मानिस सहयोगको लागि आउने हिम्मत गर्न सकेनन्, श्रीसम्पति अनि पैसा थियो, तर पर्म थिएन । पैसाको बिटो र मकैको खोस्टामा कत्ति फरक देखिएन । सबै त्रसित थिए, कोभिडको कारणबाट मरेको भन्दै मानिसहरु हल्ला गरेको आवाजसम्म सुनिन्थ्यो तर कसैको भौतिक उपस्थिति त्यहाँ भएन । श्रीमतीको लाश अगाडि बसेर विदेशबाट छोराले पठाएको आइफोन निकालेर दीपकलाई भिडियो कल गर्दै पुर्पुरोमा हात राखेर आँखाबाट बलिन्द्र धारा आँशु झार्नुभन्दा उनीसँग अर्को विकल्प केही भएन ।