नेभिगेशन
जीवनयापन

स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन जरुरी छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजित कोभिड(१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ–नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्व तयारीको काम गर्नुपर्ने बताए। नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औँल्याए। ”नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धी अध्ययनका लागि रकम बाहिरिइरहेको छ”, उनले भने, ”यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।” उनले स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनप्रतिनिधिको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा राखे। राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए। ”उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने सङ्ख्या धेरै छ”, उनले भने, ”तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो सङ्ख्या वृद्धि गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।” अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरू बढ्ने क्रममा रहेकाले पूर्व तयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी रहेको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना