नेभिगेशन
समाचार

पार्टीले जहाँ भन्छ त्यहीं उठ्छु : पौडेल

तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्देशनका आधारमा आउँदो निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । दमौलीमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफ्नो इच्छाभन्दा पनि पार्टीले कता आवश्यकता सोचेर निर्देशन दिन्छ त्यही ठाउँमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

‘म यो पक्ष त्यो पक्ष भन्दा पनि नेपाली कांग्रेस पार्टीको पक्षमा छु’, उनले भने, ‘पार्टीले मेरो मूल्यांकन कसरी गर्छ, मेरो आवश्यकतालाई कसरी लिन्छ त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछु ।’ उनले नेपाली कांग्रेस लोकतन्त्रिक पार्टी भएकाले सबैको मतको कदर हुनुपर्ने बताए । पौडेलले भने, ‘पार्टीभित्र कसैलाई पनि अन्याय हुनुहुँदैन । निष्पक्षता र मूल्यांकनको आधारमा पार्टीभित्र न्याय हुनुपर्छ ।’

यस्तै, वरिष्ठ नेता पौडेलले मुलुकको स्थिरताको लागि गठबन्धन गरेको बताउँदै मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउन गठबन्धनको लक्ष्य रहेको बताए । उनले भने, ‘केपी ओलीको नेतृत्वको सरकाले गरेको गल्तीलाई सच्याउन देउवा सरकार आएको हो त्यसैले वर्तमान सरकालाई विगतको गल्ती दोहोर्‍याउन कुनै छूट छैन ।’

यस्तै कांग्रेस र माओवादी केन्द्र दुवै संविधान बचाउने पक्षमा रहेकाले दुवैको ध्रुव एउटै रहेको बताए । उनले भने, ‘राजनीति गर्न दुई पार्टी हुन् तर मुलुकलाई स्थायीत्व र सुशासनको जग बसाउन दुवै पार्टी एक भएर लागेका छन् ।’

पौडेल यसअघि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनलाई एमाले उम्मेदवार किसानकुमार श्रेष्ठले ६ हजारभन्दा बढी मतले हराएका थिए । श्रेष्ठ यतिबेला भने नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् । यस पटकको चुनावमा गठबन्धन भएमा तनहुँ क्षेत्र नम्बर १ मा टिकट वितरणमा कठिन हुने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार