नेभिगेशन
खेलकुद

नेपाल आज टिमोर लिस्टेसँग खेल्दै

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपालले दोहाको ग्राण्ड हमाद स्टेडियमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ । एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो खेलमा आज खेल्न लागेको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेल जेठ २० गते ओमानसँग खेल्नेछ । तर अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले दुई खेललाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता भने दिएको छैन । नेपाली टोली कतारबाटै प्रतियोगिता खेल्न कुवेत जानेछ । नेपाल नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडीबिनै प्रतियोगितामा भाग लिन लागेको हो । छनोटमा नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले जुन ८ मा जोर्डनसँग पहिलो खेल खेल्ने छ भने दोस्रो खेलमा जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै