नेभिगेशन
समाचार

लोपोन्मुख समुदायका एक्लो वडाध्यक्ष, जसले गठबन्धनलाई ३ मतले हराए

उदयपुर - स्थानीय तह निर्वाचनमा उदयपुरमा पहिलो पटक लोपोन्मुख समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका छन् । उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका-११ को वडाध्यक्षमा अनन्त हायु विजयी भएसँगै प्रतिनिधित्व सुनिश्चित भएको हो ।

नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका हायुले गठबन्धन नेकपा माओबादी केन्द्रका उम्मेदवार दिपक बुढाथोकीलाई तीन मतले हराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हायुले ४१५ र बुढाथोकीले ४१२ मत प्राप्त गरेका छन् ।

बुढाथोकी २०७४ को निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । ३९ वर्षीय हायु भन्छन्, ‘मजबुद गठबन्धनलाई पराजित गर्न सक्नु मेरो सौभाग्य हो ।’ अघिल्लो चुनावमा पार्टीका उम्मेदवार पराजित भएपछि गाउँमै बसेर मिहीन ढंगले संगठन बनाउँदाको परिणाम यतिबेला देखिएको उनले बताएका छन् । ‘नेकपा एमालेबाट निर्वाचित भए पनि विना भेदभाव सबैलाई समेटेर समृद्ध वडा बनाउने योजनामा छु,’ उनले भने, ‘मेरो लागि सबै बराबरी हो, पार्टी, कार्यकर्ता र जनताले मप्रति गरेका विश्वास र सम्मानलाई सधैव आत्मसात गरेर अघि बढ्छु ।’

एसएलसी उर्तीण गरेपछि पशुसम्बन्धि भेटरेनरी जेटिए अध्ययन पूरा गरेका हायुका लागि त्यहीँ भेटनरी पेसा चुनाव जित्ने आधार भएको स्थानीय बताउँछन् । गाउँघरमा पशुचौपाया सामान्य बिरामी हुँदा समेत रात दिन नभनी सेवामा दौडिने हायुलाई निर्वाचित वडाध्यक्ष त्यसमा पनि गठबन्धनलाई पराजित गर्न निकै चुनौती थियो ।

सानै उमेरदेखि राजनीतिप्रति चासो लिए पनि हायुले २०६४ सालमा एमालेको संगठित सदस्य लिइ राजनीतिक यात्रामा होमिएका हुन् । डेढ दशक बढीको राजनीतिक अनुभव बटुलेका हायु वडा कमिटी, इलाका कमिटी हुँदै हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा कटारी नगरपालिका इन्चार्जको जिम्वेवारी छ ।

द्वन्द्वकालीन समयमा समेत हिम्मत गरेर गाउँ बसेका हायु पार्टीको २०६६ देखि निरन्तर जिल्ला कमिटी सदस्य छन् । उनले वडा, गाबिस, इलाका कमिटीको जिम्मेवारीसमेत सम्हाली सकेका छन् । भौगोलिक हिसावले विकट क्षेत्र मानिने वडानं ११ मा हायु समुदायको ५ घर र ३५ वटा मत रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार