नेभिगेशन
समाचार

पहिलो स्थानीय तहको कार्यकाल आज पूरा हुँदै

काठमाडौँ– देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल आज (बिहीबार) पूरा हुँदैछ ।

२०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।

स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि मतगणना जारी छ ।

मुलुकको सबैभन्दा जेठो र ठूलो काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालसमेत बिहीबारदेखि पूरा हुँदै छ । कार्यकाल सकिनु अघिल्लो दिन प्रमुख शाक्यले काठमाडौँको बौद्धस्थित महानगरपालिका–६ को वडा कार्यालय भवन उद्घाटन गरे तर शाक्यले उद्घाटन गरेको वडा कार्यालयको निर्माण सकिनै बाँकी छ । चार तले भवनको बाहिरी संरचना पूरा भए पनि भित्री कोठा तयार भएका छैनन् ।

भवन उद्घाटन गर्दै शाक्यले भौतिक संरचनाको विकासमा उल्लेख्य काम गरेको दाबी गरे । कार्यकालको अन्तिम चरणमा निर्माण पूरा नभएका भवनको उद्घाटन गर्ने शैलीलाई शाक्यले समेत निरन्तरता दिए ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप, धरहरालगायत पुरातात्विक सम्पदाको पुनर्निमाण पूरा नभएका अधुरा संरचना उद्घाटन गरेको आरोप पूर्ववर्ती सरकारमाथि लाग्दै आएको थियो । कामनपाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको काष्ठमण्डप तथा धरहरा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको भन्दै आलोचना भएको थियो ।

काठमाडौँलाई स्मार्ट सहर बनाउने तथा मोनो रेल चलाउने शाक्यको चुनावी परिकल्पना चुनावी एजेन्डाका रूपमा सीमित रहे । उपत्यकाको फोहोर व्यवस्थापन तथा सहरी क्षेत्रको सडक विस्तारमा समेत शाक्यको कार्यकालमा खासै प्रगति हुन सकेन ।

२०७४ जेठ ५ गतेकाठमाडौँ महानगरपालिका प्रमुखको पदभार गरेका शाक्यको कार्यकाल मौनतामै सकियो । पाँच वर्षे कार्यकालमा सञ्चारमाध्यम तथा महानगरवासीसँगसमेत अपेक्षित रूपमा घुलमिल हुन नसकेका शाक्यमाथि कतिपयले समस्यासँग जुध्न नसकेको रूपमा चित्रण गर्ने गरेका छन् तर उनले “आफू भाषणभन्दा काममै बढी ध्यान दिएको” दाबी गरे ।

महानगरपालिका प्रमुख शाक्यले आफ्नो पाँच वर्षे कार्यकालमा विगतभन्दा धेरै काम भएको दाबी गरेका छन् । उपत्यकामा रहेका झन्डै एक सय सामुदायिक विद्यालयको स्तरोन्नति, पूर्वाधार तथा शैक्षिक विकासलाई शाक्यले कार्यकालको उपलब्धिका रूपमा लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार