आईपीएल : पन्जाबमाथि दिल्लीको सहज जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– डेभिड वार्नरको अविजित अर्धशतकीय इनिङको मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ ।

मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो ।

पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै पृथ्वी शले ४१ रन बनाए । सर्फराज खान १२ रनमा अविजित रहे ।

पन्जाबका राहुल चाहरले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन जोडेको थियो ।

पन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ तथा शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे ।

दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।

लिगमा तेस्रो जित निकाल्दै ६ खेलमा ६ अंक बनाएको दिल्ली छैटौं स्थानमा उक्लिएको छ ।

चौंथो हार ब्यहोरेको पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्