नेपाल र अर्जेन्टिनाको मैत्रीपूर्ण फुटबल, खेलकुदमन्त्रीले गरे यस्तो प्रस्ताव

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनी राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गहतराजले राजदूत गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् । राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीसँग मन्त्री गहतराजले यस्तो कुरा गरेका हुन् । मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमत भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री गहतराजले दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१६
प्रतिक्रिया दिनुहोस्