पोखरा म्याराथन: अजित र सरस्वतीलाई १० किमी दौडको उपाधि

बिहीबार, मंसिर ८, २०७९
पोखरा— पोखरामा आयोजना गरिएको १६औँ संस्करणको 'सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत शनिबार सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरा म्याराथनअन्तर्गत आयोजित सो दौडमा काठमाडौँका अजितले ३० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । विजेता यादवले सन् २०१९ मा हङकङमा सम्पन्न तीन हजार मिटर दौडतर्फ एशियन युथ एथलेटिक्सको स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । महिलातर्फको १० किमी दौडमा काठमाडौँका सरस्वतीले ३९ मिनेट ३५ सेकेन्डमा पूरा गरी उपाधिसहित रु २० हजार नगद पुरस्कार जितिन् । पुरुषतर्फ स्याङ्जाका युवराज थापाले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दैै द्वितीय र काठमाडौँका टङ्ककबहादुर कार्कीले ३३ मिनेट पाँच सेकेन्डमा दौड पूरा गरी क्रमशः १५ हजार र १० हजार पुरस्कार पाए । महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लबका आशा रावतले ४० मिनेट १० सकेन्डमा दौड पूरा गर्दै द्वितीय र पोखराका गोमा पुनले ४३ मिनेट ५९ सेकेन्डमा निर्धारित दूरी पूरा गरी तृतीय भइन् । उनीहरुले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार पाइन् । प्रतियोगिताअन्तर्गत नै भएको छात्र पाँच किमी दौडमा थापाठाना मावि पर्वतका आनन्द थापाले १७ मिनेट पाँच सेकेन्डमा दौड पूरा गर्दै प्रथम‚ कालीगण्डकी मावि पर्वतका कृष्णबहादुर परियारले १७ मिनेटमा द्वितीय र मण्डली मावि गोरखाका सुरज बरामले १७ मिनेट ४१ सकेन्डमा दौड पूरा गरी तृतीय भए । छात्रातर्फ तनहुँको भानु माविका नर्मता गुरुङ प्रथम‚ पोखराको छोरेपाटन माविका नारायणी भण्डारीले द्वितीय र तनहुँको भानु माविका सन्ध्या अधिकारी तृतीय हुन सफल भइन् । छात्र र छात्रातर्फ प्रथम‚ द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही नगद रु १० हजार‚ सात हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको ह्विलचियर पुरुष इभेन्टतर्फ सुरेश गौली प्रथम‚ जीवन श्रेष्ठ द्वितीय र भरत अधिकारी तृतीय भए । महिलातर्फ अञ्जु बराल प्रथम‚ घना मगर द्वितीय र लक्ष्मी सुनार तृतीय हुँदै क्रमशः रु १० हजार‚ सात हजार र पाँच हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा पुरुषतर्फ १० किमी दौडमा २००‚ महिला १० किमीमा १००‚ पाँच किमी छात्रतर्फ ३००‚ पाँच किमी छात्रातर्फ २०० गरी ८०० जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई वरिष्ठ मुटु रोग विशेषज्ञ तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका निर्देशक प्रा डा भगवान कोइराला‚ प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार विरतण गरेका थिएइ । यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरेका थिए । मञ्चले यसअघि गत फागुन ७ गते म्याराथन सम्पन्न गरिसकेको छ । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत फरक फरक मितिमा इभेन्टहरु आयोजना गरिएको मञ्चले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्