पीएनजीलाई नेपालले दियो २७९ रनको लक्ष्य, एकदिवसीयमा दीपेन्द्रको पहिलो शतक

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - दीपेन्द्र सिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी)सामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टोली पीएनजीविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा २७९ रनको चुनौती प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका दीपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल खेल्दै ७ चौका प्रहार गरेका उनी नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।

खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए ।

तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई मजबुद स्तिथिमा पुर्‍याए ।

देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रनको इनिङ खेले । रोहित पौडेलले ३५ रनको योगदान गर्दा भिम शार्की २६ रनमा बोल्ड भए । अन्तिममा कप्तान सन्दीप लामिछानेले आक्रामक २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पीएनजीका अलेइ नाओले ३ विकेट लिए । नोरमान भानुअले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १/१ विकेट हात पारे ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२०
प्रतिक्रिया दिनुहोस्