नेभिगेशन
सुरक्षा–अपराध

गुन्डा नाइके चक्रे मिलनलाई नछाड्ने भयो प्रहरीले, काठमाडौंपछि कहाँको मुद्दा?

काठमाडौं– गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई पक्राउ गरेको प्रहरीले यसै नछाड्ने भएको छ।

उनलाई काठमाडौंमा थुना सकिएपछि भक्तपुरको प्रकरणमा मुद्दा चलाइने तयारी भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई गत बर्षको कुटपिट मुद्दामा छानबिन गर्नेछ। 

२०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा उनको संलग्नता पुष्टि भएको हो। 

अहिले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी काठमाडौंबाट मुद्दा चलिरहेकाले उनी हाल भद्रकालीस्थित प्रहरी हिरासतमा छन्।

काठमाडौं प्रहरीको हिरासतमा रहेकै अवस्थामा उनको बयान लिने काम अगाडि बढेको छ। उक्त मुद्दा प्रहरी वृत्त, थिमीले अगाडि बढाउने भएको हो।

एक वर्ष पुरानो मुद्दामा उनको वतन नखुलेका कारण वतन खुलाएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढ्ने छ। भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए। त्यसपछि चक्रे आर्फैँले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए।

भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो। सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो। 

उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो। 

चक्रेको हकमा उनी पक्राउ परेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम अभियोगपत्र दायर गरिने गरी मुद्दा बुझाइएको थियो। रायमाझीको जाहेरीमा प्रतिवादी बनाइएका चक्रे मिलन नै अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेका व्यक्ति हुन् भन्ने कुरा प्रमाणित गर्ने प्रक्रियामा प्रहरी छ।

प्रहरीले राजधानीमा गुन्डागर्दीलाई नामेट पार्ने हिसाबले नै यो मुद्दा चलाउन लागिएको हो। यसअघि काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्व अधिकारीले टाउको उठाउन नदिने घोषणा नै गरिसकेका थिए।

पक्राउ गरिएका ‘गुन्डा नाइके’ चक्रे मिलनसम्बन्धी ५ ‘घोचक’ तथ्यः सहकारी अभियुक्तले पनि समातेका थिए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

नक्कली नोटसहित दुई जना पक्राउ