नेभिगेशन
सुरक्षा–अपराध

पक्राउ गरिएका ‘गुन्डा नाइके’ चक्रे मिलनसम्बन्धी ५ ‘घोचक’ तथ्यः सहकारी अभियुक्तले पनि समातेका थिए

शान्तिसुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार‘एके–४७’को सुरक्षा घेरामा देखिएका थिए

काठमाडौं– गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उपनामका मिलन गुरुङलाई प्रहरीले विहीबार राति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ।

बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए। त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए।

खबरअनुसार चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ। यसअघि बुधबार राती सानोभाई भनिने गुन्डा नाइके युवराज गुरुङलाई पक्राउ गरिएको थियो।

परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी रमेश बस्नेत गुन्डागर्दीविरुद्ध निर्मम बन्न थालेको यस प्रकरणले पुष्टि हुन्छ। 

चक्रे मिलन राजधानीका पुराना गुन्डा नाइके हुन्। यीसम्बन्धी ५ रोचक तथ्य पनि छन्।

पहिलो, चक्रे मिलन नेकपा एमालेबाट प्रतिनिधि सभाका निम्ति सिफारिसमा परेका थिए। यसको अर्थ उनी हाल पनि एमालेका सक्रिय छन् भन्ने हो। सिफारिस भएका बेला उनको गोरखा सवारी भयानक थियो।

गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका थिए। नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले उनको नाम सिफारिस गरेको थियो। गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको थियो।

सोही क्षेत्रबाट नेपाल समाजवादी पार्टीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम सिफारिस गरेको थियो।

चक्रे मिलनसम्बन्धी दोस्रो घोचक विषयचाहिँ पछिल्लो पटक उनीमाथि गरिएको खानतलासी थियो।

जिल्ला प्रहरी परिसरले राजधानीमा रहेका नयाँ–पुराना ‘डन’माथि प्रहरीले निगरानी बढाएको बेला खानतलासी भयो। जसले निक्कै चर्चा पायो। यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका थिए। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको थियो।

भद्रकाली अगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी लिएको थियो। तलासी लिँदा केही फेला नपरेपछि मिलनलाई प्रहरीले छोडेको थियो। ‘डन’हरूको गतिविधिमा निष्कृय रहेको प्रहरी काठमाडौंमा एसएसपी परिवर्तनलगत्तै सक्रिय देखिएको थियो।

उनलाई खानतलासी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी थिए, अशोक सिंह। उनी डीआईजीबाट राजीनामा दिएर प्रहरी सेवा छाड्ने मध्यमा पर्छन्। 

सिंहले काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरू पनि रहेकाले उनीहरूका गतिविधिमा प्रहरी चनाखो रहेको बताए। सिंहले प्रहरीले डनहरूको सूची तयार पारिरहेको बताएका थिए।

अर्कोचाहिँ, नेपालगञ्जमा भएको राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन जाँदा चक्रे मिलनको सुरक्षामा ‘एके–४७’ को चर्चा। 

शान्तिसुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार‘एके–४७’को सुरक्षा घेरामा देखिएका थिए। 

1681174114_chakre-1200x560-1737963399-1754019827.jpg
नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका थिए। उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। 

युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन महाधिवेशन स्थलमा भने देखिएनन्। भिडिओमा आधुनिक हतियार एके–४७ बोकेका युवकले उनलाई सुरक्षा दिएको देखिएको थियो।

उनको पछिपछि हिँडेका ती युवकका हातमा भएको सो हतियार पनि भिडिओमा प्रस्ट देखिएको थियो। ज्ञानेन्द्र वली ५७ नाम राखेर टिकटकबाट भिडिओ सार्वजनिक गरिएको थियो। पछि भिडिओ हटाइएको थियो।

चौंथो, विषय भने हाल सहकारी ठगी प्रकरणमा थुनामा रहेका  पूर्वडीआईजी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख हुँदा चक्रे मिलनलाई पक्राउ गरेका थिए। 

संविधान सभाको दोस्रो निर्वाचनका बेला शान्ति सुरक्षाका नाममा पक्राउ गरी केही दिन राखिएको थियो। उनलाई महाराजगञ्जस्थित निवासबाट नै पक्राउ गरी नियन्त्रणमा राखेर मतदान सकिएपछि मात्र छाडिएको थियो।

पाँचौ भने चक्रे मिलन र उनको समूह अहिले सामाजिक सञ्जाल टीकटकमा सक्रिय रहेको पाइन्थ्यो। प्रहरीले त्यो विषयलाई पनि निगरानीमा राखेको थियो।

केही समयअघि उनी लन्डनदेखि सिंगापुर, मलेसीयासम्म पुगेको जानकारी टीकटकबाट नै देखिएको थियो। उक्त समूहले विभिन्न रेस्टुराँमा खाएको, समूहमा ठूला ठूला केक काटेको जस्तो भिडिओ निरन्तर अपलोड गरिरहेका थिए। 

‘सामाजिक सञ्जालमार्फत भिँड र धम्कीपूर्ण शैलीका सामूहिक र संगठीत गतिविधि जस्तो लाग्नेगरी डर त्रास फैलाइएको देखिन्थ्यो’, एक प्रहरी अधिकारी भन्छन्,‘यस विषयलाई पनि निगरानीमा राखिएको थियो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध