नेभिगेशन
सुरक्षा–अपराध

ठेकेदार वडाध्यक्षले गराएको दुर्घटना : सुनसरीमा प्रहरीले किन पीडित खनालको जाहेरी दर्ता नगरी बसेको थियो? 

इटहरी– जिल्ला प्रहरी कार्यालय सुनसरीको दबाबका कारण इलाका प्रहरी कार्यालय पकलीले एउटा जाहेरी समयमा दर्ता नगरेका कारण दुर्घटनामा घाइते भएकी सुन्दर हरैंचा नगरपालिकावासी एक जना महिला प्रताडित बनेकी छन्।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) लेखनाथ दाहालले दुर्घटना गराउने इनरुवा नगरपालिका वडा नम्बर ६ का ठेकेदार वडाअध्यक्ष सुमन थापासँगको दबाबमा जाहेरी दरखास्त समयमा नलिएको बुझिएको छ। 

जाहेरी समयमा नलिँदा घाइते एक महिलाले समयमा उचित उपचार नपाउँदा दाहिने खुट्टा नै गुमाउनु पर्ने अवस्था आएको हो। 

यसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुमन तिम्सिनाले पनि ध्यान नदिएको मात्र होइन उच्च अदालतसम्म पीडित नपुग्दासम्म हेक्का नराखेको पाइएको छ।

यो विषयमा जानकारी भए पनि उनले किन चासो दिएनन्? र, अदालतको आदेश आएपछि मात्र दर्ता गराउने आदेश दिएको पनि बुझिएको छ।

घटना के थियो?
२०८१ साल फागुन २२ गते साँझ साढे ६ बजे चतरा कान्छी चौंक सडक खण्डमा बा२१च ६८८८ नम्बरको निशान कम्पनीको कारले प्र.१—०२—०४४ प७४२८नम्बरको मोटरसाईकललाई ठक्करदिँदा मोटरसाईकलको पछाडी बस्ने देवीका खनालको दाहिने खुट्टामा  गम्भिर चोट लागेको थियो। मोटरसाईकल चालक राजकुमार पौडेल सामान्य घाइते भएका थिए। 

ठक्कर दिनसाथ वडाअध्यक्ष थापा कार लिएर तत्कालै घटना स्थलबाट फरार भएका थिए। 

देवीकालाई लिफ्ट दिने मोटरसाईकल चालक र स्थानीयको सहयोगमा खनाललाई उपचारका लागि विराटनरस्थित बिराट नर्सिङ होम आकस्मिक कक्षमा भर्ना गरिएको थियो। 

खनालको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लाग्नुका साथै कम्मर मुनीको भागमा कारको चक्काले किचेको थियो। 

नर्सिङ होममा फागुन २४ गते देविकाको दाहिने खुट्टाको कम्मरमुनीको भागमा अप्रेशन गरी स्टील हालियो।

अप्रेशनपछि ठक्कर दिने वडाअध्यक्ष थापाविरुद्ध कानुनी कारवाहीको माग राख्दै पीडित देविकाकी दिदी गीता खनाल जाहेरी दरखास्त लिएर दर्ताका लागि इलाका प्रहरी कार्यालय पकली धाइन्। 

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) लेखनाथ दाहालले निवेदन दर्ता नगरी मिलापत्र गराउनेतिर अग्रसर भए।

गीताका अनुसार इन्स्पेक्टर दाहालले ‘वडाअध्यक्ष सबै उपचार गर्छु भन्नु भएको छ। उपचार खर्च पनि गरिरहनु भएको छ। पहिलो कुरा त विरामीको उपचार राम्रो हुन पर्यो। निवेदन दर्ता गर्न आवश्यक छैन’ भन्दै पन्छाएका थिए।

दुर्घटना भएको केही दिनमै प्रहरीले थापाले चलाएको कार पनि नियन्त्रणमा लिएको थियो। तर, घाईते देविकाको उपचार नसकिँदै थापासँगको मिलेमतोमा दाहालकै निर्देशनमा दिदी गीतासँग उपचारमा कुनै कमी हुन नदिने शर्तमा कार निकाल्नका लागि मुद्धा फाँटका प्रहरी कर्मचारीहरुले मिलापत्रको कागज गराएका थिए। 

अप्रेशनपछि देविका मोरङको सुन्दरहरैंचा–७ मा रहेको माइती घरमा बसेर घाउको डे«सिङ गराउँदै आएकी थिइन्। अप्रेशन गरेको स्थानको घाउ निको हुनुको साटो प्रतिदिन पाक्न थालेपछि फलोअपका लागि देविकालाई नर्सिङ होम नै लगिएको थियो। उनको फलोअपमा डा.सरोज कुमार साहले चेंकजाँच गरेका थिए। 

सो बेला स्टील लगाएको स्थानमा ठिक रहेको हड्डी समेत लाग्न थालेको भन्दै घर पठाईदिएका थिए। तर, झन घाउ पाक्न थालेपछि प्रहरीलाई अनुनय विनय गरेर घाउ जाँच फराम भरी कोशी अञ्चल अस्पताल विराटनगर चेंक जाँचका लागि ०८२, १६ जेठमा लगेको दिदी गीताले बताइन्। 

यतिकासम्म हुँदा वडाअध्यक्ष थापा सम्पर्कमा नआएको र सम्पर्कमा आउनका लागि पटक पटक इलाका प्रहरी कार्यालय पकलीमा कुरा राख्दा सुनेको नसुने झै गरेको गीताले बताइन्। 

कार झिक्दा वडाअध्यक्ष थापाले गरेको मिलापत्र अनुसार बिरामीको उपचारका ध्यान नदिएकाले अब कुनै पनि हालतमा जाहेरी दरखास्त दर्ता गर्नुपर्छ भनि प्रहरी कार्यालय पुगेर इन्स्पेक्टर दाहाललाई ढोग्दा हप्कीदप्की दिने काम गरेको गीताले बताइन्।

कोशी अञ्चल अस्पतालको डाक्टरले चेंक जाँच गर्दा देविकाको अप्रेशन गरी स्टील हाल्दा नै डाक्टरले गलत गरेको प्रमाणित भएको थियो। नर्सिङ होमका डाक्टरले अप्रेशन गरि स्टील हाल्दा उल्टो हालिएकाले इन्फेक्सन भएको रिर्पोट सहित पुनः अप्रेशन गर्न पर्ने बताएको थियो। 

कोशी अस्पतालको डाक्टरले घाउ जाँचको रिर्पोट सहित पुनः अप्रेशनका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देविकालाई भर्ना गरिएको थियो। 

यता, वडाअध्यक्ष थापाले सहि उपचार नगराएका कारण बहिनी देविकाको दाहिने खुट्टाको पुनः अप्रेशन गर्नु पर्ने परिस्थिती सृजना भएपछि कानुन अनुसार अगाडि बढ्का लागि जाहेरी दरखास्त लिएर गीता पटक पटक इलाका प्रहरी कार्यालय पकली र जिल्ला सरकारी वकिल कार्यालय इनरुवा धाएकी थिइन्। 

दुवै कार्यालयका प्रमुखले गीताको जाहेरी दरखास्त दर्ता नगरी अनेकन कुरा गरेर फर्काउने काम गरेका थिए। 

वडाअध्यक्ष थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पावर देखाएर पैसा खर्च गरेर इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर दाहाल र जिल्ला सरकारी वकिल कार्यालयका तत्कालिन प्रमुखलाई आफ्नो पक्षमा पारेकै कारण आफ्नो जाहेरी दरखास्त लिएर दर्ता नगरि दिएको गीताले दावी गरेकी छन्। 

उता, लिखित रुपमा जाहेरी दरखास्त लिएर पटक पटक इलाका प्रहरी कार्यालय पकली र जिल्ला सरकारी वकिल कार्यालय इनरुवा धाउँदा दर्ता नगरी उल्टै घाइते बहिनीको चरित्रमाथि अनेकन आरोप लगाउने काम भएपछि गीताले इलाका हुलाक कार्यालय इटहरीबाट दुवै कार्यालयलाई जाहेरी दरखास्त र निवेदन पठाएकी थिइन्। 

गीताले २०८२, २२ जेठ मा हुलाकमार्फत जाहेरी दरखास्त र निवेदन दुवै कार्यालय पठाएकी थिइन्।

गीताले हुलाकमार्फत पठाएको पत्र इलाका प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय इनरुवाले २५ जेठमै बुझेका थिए। 

कानुन अनुसार त्यसरी हुलाकमार्फत पत्र आउन साथ सनाखत गराई कारवाही अगाडि बढाउनु पर्ने हुन्छ तर इलाका प्रहरी कार्यालय पकलीले सो अनुसार कार्य नै नगरेको गीताले बताइन्। 

यसैबीच, हुलाक मार्फत पठाएको जाहेरी दरखास्त र निवेदन सनाखत गराई वडाअध्यक्ष थापालाई कानुनी कारवाही अगाडि बढाउने बिषय पकली प्रहरीले चासो नराखेपछि गीताले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएकी थिइन्। गीताले दर्ता गराएको निवेदन उपर उच्च अदालत विराटनगरले निवेदन दर्ता नगर्नुको कारण र प्रमाण सहित उपस्थितीका लागि जिल्ला सरकारी वकिलको कार्यालय इनरुवाका नाममा परमादेश जारी गरेको थियो। 

गीताका अनुसार उच्चले परमादेश अनुसार आउँदो भदौं ३ गतेका लागि तारेख समेत तोकेको छ। 

उच्च अदालत विराटनगर पीडितको तर्फबाट गीताले दिएको जाहेरी दरखास्त दर्ता नगर्नुको कारण र प्रमाण सहित उपस्थित हुनका लागि आउँदो भदौं ३ गते तारेख तोकेपछि इलाका प्रहरी कार्यालय पकलीले हुलाक मार्फत पठाएको जाहेरी दरखास्त सहितको पत्र सनाखतका लागि उपस्थित हुन साउन ११ गते हुलाक मार्फत नै इटहरी ४ निवासी गीता खनालको नाममा पत्र पठाएको छ। 

जाहेरी दरखास्त सनाखतका लागि भन्दै ७ दिनको म्याद राखि पठाएको पत्रको चलानी नम्बर १२९ हो। सो पत्रमा इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर दाहलले नै हस्ताक्षर गरेका छन्। 

हुलाकमार्फत आएको पत्र इलाका प्रहरी कार्यालय पकलीले २५ जेठमै बुझेको थियो। तर त्यसको ठिक ४८ दिनपछि ११ साउनको मिति राखेर सनाखतका लागि गीतालाई हुलाक मार्फत इन्स्पेक्टर दाहालले पत्र पठाएका छन्। 

यसअघि यीनै दाहाललाई गीताले पटक पटक भेटेर जाहेरी दरखास्त दर्ताका लागि अनुनय विनय गरेकी थिइन्। उबेला वडाअध्यक्ष थापासँगको साँठगाँठमा दाहालले जाहेरी दरखास्त दर्ताका लागि चासो नै राखेका थिएनन्। 

गीता भन्छिन्,‘जब न्यायका लागि म सबै प्रमाण सहित उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्न गएपछिको आदेशका कारण मात्र दाहालले आफू समस्या पर्ने भएकाले सनाखतका लागि पत्र पठाएको भन्ने मैले राम्रोसँग बुझेको छु।’ 

इलाका प्रहरी कार्यालय पकलीले गीतालाई सनाखतका लागि पठाएको पत्रमा इनरुवा ६ का वडाअध्यक्ष सुमन थापाले लापारवाही तरिकाले चलाएको बा२१च ६८८८ नम्बरको निशान कम्पनीको कारले प्र.१—०२—०४४ प ७४२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई देविका खनाल र रामप्रसाद पौडेललाई घाइते बनाएको जनाउँदै  जाहेरी दरखास्त, निवेदन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को २ को दफा ४(३) (क) र कसूरको अनुसन्धान सम्बन्धि नियमावली, २०७५ को नियम ४(१) बमोजिम सनाखत गराई अनुसन्धान तहकिकातको प्रकृया अगाडि बढाउनु पर्ने भएकाले पत्र पाएको ७ दिन भित्रमा कार्यालय उपस्थित हुन अनुरोध गरिएको छ । 

देविका खनालको दुर्घटना प्रकरणमा आफूले वडाअध्यक्ष थापाको पक्षमा नलागेको इन्स्पेक्टर दाहालको दाबी छ। तर, जाहेरी दर्ताका लागि उच्च अदालतको आदेश नै कुर्नु परेका कारण उनीभन्दा उपल्लो निकाय जिल्ला प्रहरी कार्यालयलाई पनि अवगत गराएको हुनुपर्छ।

अनुसन्धान गर्न समय लागेकाले हुलाकबाट प्राप्त पत्र ढिलो गरि जाहेरी दरखास्त दिने घाइतेकी दिदी गीतालाई सनाखतका लागि पत्र पठाएको दाहालको भनाई छ। 

उच्चले परमादेश जारी गरि प्रमाण सहित उपस्थित हुन ३ भदौलाई तारेख तोकेपछि इस्पेक्टर दाहाल अप्ठेरोमा पर्ने भएपछि एसपी तिम्सिनासँग सल्लाह गरी जाहेरी दर्ताका लागि तयार भएका थिए। एसपी तिम्सिना यी सबै घटनाक्रमको रिपोर्टिङ लिने अधिकारी हुन्। तर उनले पनि आँखा चिम्लिएर बसेको प्रतीत पीडित पक्षलाई भएको छ।

यसपछि देविका खनाल दुर्घटनामा प्रकरणमा समयमा जाहेरी दरखास्त दर्ता गरेर अगाडि बढ्ने बिषयमा प्रहरीको तर्फबाट गल्ती भएको स्वीकार गर्दै एसपी तिम्सिनाले अब पीडितका आफन्तसँग माफी मागेर न्याय दिलाउन सुनसरी प्रहरी लागि पर्ने बताए। 

उनले प्रहरीको पहिलो दायित्व घाइतेको उपचार गराउने  भएकाले प्रहरीले प्रभावकारी समन्वय गरेको दावी गरे ।  

पहिलो पटकको अप्रेशन सहितको ५ लाखबढी खर्च वडाध्यक्ष थापाले नै बेहोरेको उनले बताए। पछि डाक्टरले गलत उपचार गर्छ भने त्यसको सबै जिम्मेवारी प्रहरीले लिन नसक्ने जवाफ तिम्सिनाले दिए। ‘यस प्रकृतिका घटनामा पिडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेर कानुन कारवाही गर्न मिल्दैन। उसले घाइतेको उपचार गर्छ गर्दैन भन्ने हेर्ने काम मात्र प्रहरीले गर्ने हो। त्यही भएर पनि पीडितको जाहेरी पकली प्रहरीले तत्काल नलिएको हुन सक्छ’, तिम्सिनाको गैरजिम्मेवार प्रतिक्रिया थियो।

तिम्सिनाले एउटै जिल्लाबासी र व्याची समेत रहेका प्रहरी इन्स्पेक्टर दाहालको बचाउ गर्दै पीडितको जाहेरी दरखास्त नलिइएको आरोप छ। 

जाहेरी दरखास्त दिनुअघि घाइते ठिक नहुन्जेलसम्मको सबै उपचार गर्ने वडाध्यक्षसँग मिलापत्र गरि नियन्त्रणमा लिएको उनको कार उनैलाई बुझाइएको बताए। 

२४ घण्टाभन्दा बढी समय सवारी साधन राख्न नमिल्ने कानुनी व्यवस्था अनुसार कार बुझाइएको उनले बताए। उनले सवारी जिल्लामा दुर्घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिएर हिरासतमा नराखेको अनौठो दावी पनि गरे। 

जाहेरी लिन अदालतको आदेश नै चाहिने विषयमा प्रश्न उठेपछि एसपी तिम्सिनाले त्यसमा प्रहरीको गल्ती भएको र पीडित परिवारसँग माफी माग्छौं र कानुन अनुसार जाहेरी दरखास्त सनाखत गरि कारवाही प्रकृया अगाडि बढाउने बताए।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध