नेभिगेशन
राजनीति

‘महाभोज’ हेर्न सिटी सेन्टर पुगे ‘प्रचण्ड’सहितका शीर्ष नेता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र 
महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् ।

‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आज साँझ ५ बजेको शो हेर्न काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका हुन् । माओवादीका जनवर्गीय संगठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता-कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिए ।

उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।

प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।

चलचित्र महाभोज का निर्माता हिमाल कडरिया हुन् भने निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । 

चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति