नेभिगेशन
राजनीति

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको भेटवार्ता सम्पन्न

    

काठमाडौँ, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उनीहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो । 

    भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिए। “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो”, उनले सञ्चारकर्मीलाई भने, “अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुनेछ ।” 

    पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिए ।  उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेका थिए । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए । 

    उनले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेकी छन् । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो । एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति