नेभिगेशन
समाज विविध

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरी पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरवारमा बसेको बैठकले काठमाडौँ चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्माण सम्पन्न गर्ने गरी पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै कलंकी-महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगायतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ ।

बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी-महाराजगञ्ज खण्डको स्तरोन्नतिका लागि बजेट व्यवस्थापन लगायत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिए । बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताए ।

कलंकी–महाराजगञ्ज खण्डको केही स्थानमा सडक विस्तारका लागि मुआब्जाको विवादका कारण समस्या देखिएको उनले जानकारी दिए । उनले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत धारणा राखे ।

त्यस्तै बैठकमा समिति सदस्यहरूले काठमाडौँ चक्रपथको कलंकी-महाराजगञ्ज खण्ड समयमा नै निर्माण हुन नसकेकाले सो क्षेत्रमा बस्ने नागरिकहरूले धुलो धुवा र हिलोको सास्ती बेहोर्नुपरेको भन्दै चक्रपथको सडक विस्तारलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

जिप दुर्घटनामा सात जना घाइते