नेभिगेशन
राजनीति

एमालेमा अन्तरसंघर्षः पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न र मुकुन्द न्यौपानेलाई ल्याउन विधान संशोधन

सचिवालय बैठकले भने भण्डारीलाई रोक्नेगरी विधान संशोधन गरिदियो। जसलाई खुशीसाथ महासचिव शंकर पोखरेलले ब्याख्या गरेका छन्

काठमाडौं– सत्तारुढ नेकपा एमालेमा अन्तरसंघर्ष चुलिएको छ। विहीबार राती अबेरसम्म बसेको सचिवालय बैठकमा यस्तो संघर्ष देखियो।

खासगरी विधान सम्मेलन (महाधिवेशन) प्रतिनिधिका विषय, उमेर सीमा र कार्यकालको विषयलाई लिएर अन्तरसंघर्ष चलेको हो। 

यस विषयमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन पनि भएको थियो।

पदाधिकारी संख्या १९ बाट १५ मा झार्ने, ७० बर्षको उमेर सीमा हटाउने, दुई कार्यकाल हटाउने र पुराना विधान महाधिवेशन प्रतिनिधि मात्र सहभागी हुन पाउने सचिवालयले पारित गरेको छ। 

यी सबै प्रस्ताव पारित गर्नका लागि नयाँ प्रतिनिधि नल्याउने निर्णय भयो जसका कारण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि विधान सम्मेलनमा सहभागी हुन पाउने छैनन् भने बरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलको राजनीतिलाई पनि प्रभावित बनाउने रणनीति पास गरिएको छ।

भण्डारीलाई रोक्न र नेकपा एकीकृत समाजवादीका मुकुन्द न्यौपानेलगायतलाई भित्राउनका लागि विधान संशोधन गरिएको हो। 

नेकपा एकीकृत समाजवादीमा रहेका मुकुन्द न्यौपानेसहितका नेताहरु ०८० को बैशाखमा एमालेमा फर्किएका थिए।

न्यौपाने, नेता चुडामणि जंगलीसहित नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेका ३४ जना एमाले फर्किएका थिए।

मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल गौडेल, तोरणबहादुर केसीलगायत फर्किएका थिए।

यसबाहेक भण्डारी सक्रिय हुने रणनीतिअनुसार कार्यक्रममा सहभागीता जनाउन थालेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि झस्किएका थिए। उनले विहीबार दिउँसो मात्र सार्वजनिक भएको एउटा अन्तरवार्तामा भण्डारी राजनीतिमा फर्किने विषय नोटिसमा रहेको तर औपचारिक रुपमा प्रवेश नगरेको बताएका थिए। 

तर बेलुका सचिवालय बैठकले भने भण्डारीलाई रोक्नेगरी विधान संशोधन गरिदियो। जसलाई खुशीसाथ महासचिव शंकर पोखरेलले ब्याख्या गरेका छन्।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबारीमा विधान सम्मेलन (महाधिवेशन) गर्ने यसअघिकै एमाले निर्णय थियो।

शुक्रबार उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति