नेभिगेशन
अर्थ विविध

म्याग्दीमा थपिए चार वटा सडक स्तरोन्नति आयोजना

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । संघीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।

चारवटा सडक स्तरोन्नति र एक झोलुङ्गे पुल निर्माणसम्बन्धी योजनाको ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा प्रवेश गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ती आयोजना बर्खायामलगत्तै निर्माण सुरु गर्ने तयारी छ ।

दरवाङ–मुना–ढोरपाटन सडक

गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि २०८२ असार ११ गते सक्षम-सिम्रन जेभी र पूर्वाधार विकास कार्यालयबीच रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ । २७ महिनाको ठेक्का अवधि रहेको यो योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाँडा–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुुनेछ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मानिएको यो सडक म्याग्दीको प्राथमिकताप्राप्त योजना भएको म्याग्दी क्षेत्र नं १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

भगवती–बेग सडक

रघुगङ्गा गाउँपालिका गलेश्वर–पिप्ले–भगवती हुँदै बेग जाने बाटो र भगवती–सिजलगाउँ–साझपानी–बयारीगाउँ–बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ । रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको यस योजनामार्फत भगवतीस्थित यसअघि प्रदेश सरकारमार्फत स्तरोन्नति भएको सडकको अन्तिम बिन्दुबाट बेगतर्फ एक किलोमिटर चार सय मिटर ढलान र प्रिमिक्स कालोपत्र हुने म्याग्दी क्षेत्र नं १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

रुम–ताराखोला सडक

म्याग्दी निर्वाचन क्षेत्र १ (२) अन्तर्गत मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजनामार्फत सात सय मिटर सडक ढलान गरिने भएको छ ।

गलेश्वर–पुुलाश्रम सडक

घतान–९ गलेश्वर मन्दिरबाट पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बिबिपीएल बिएस डिएस धवलागिरि छनोट भएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा बेनी नगरपालिका–९ गलेश्वरबाट अर्को धार्मिकस्थल पुलाश्रम जोड्ने सडकअन्तर्गत बेनी नगरपालिका–९ का विभिन्न ठाउँमा दुई किलोमिटर ढलान र ग्राभेल गर्न लागिएको हो ।

सावाटा–थापाचौर झोलुङ्गे पुल

मालिका गाउँपालिका–५ थापाचौर र वडा नं ६ को सावटा बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको हो । प्रदेश सरकारमार्फत आव २०८०/८१ मा म्याग्दीमा सातवटा सडक र दुईवटा मोटरेबल पुल निर्माणका लागि रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यसअघिका वर्षका एक सडक र एक मोटरेबल पुल निर्माणाधीन छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध