नेभिगेशन
समाज विविध

भोटेकोशी बाढीमा बेपत्ता २० जनामध्ये हालसम्म कतिको शव भेटियो ?

काठमाडौं । नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा बाढीबाट विस्थापित बनेका नागरिकलाई सुरक्षितरुपमा गन्तव्यतर्फ पठाइएको छ । सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीको सहयोगमा अस्थायी पदमार्ग खोली बिहीवार  ४८५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोबाट रसुवागढी–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रुपमा बन्द भएपछि अस्थायी बाटो बनाएर उनीहरुलाई सुरक्षित स्थानमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा फसेका दुई वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित स्थानमा सारेका छन् ।

मङ्गलबार बिहान ल्हेन्दे खोलामा एक्कासी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी तीन सुरक्षाकर्मीसहित १४ नेपाली र छ जना चिनियाँ नागरिक हराइरहेका छन् । हालसम्म चार जनाको शव तथा पाँच वटा मानव अङ्ग मात्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ । अन्य शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बाढीले बगाएकाहरूमध्ये थप २ जनाको शव आज फेला परेको हो ।

एउटा शव चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र अर्को नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । अन्य बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोसी र त्रिशूलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । अहिले सो नाका पूर्ण रुपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा विद्युत् सेवा पूर्ण रुपमा ठप्प छ । सञ्चारका साधनले समेत काम गर्न छाडेका छन् ।

उपत्यकामा २४सै घण्टा तैनाथी
यसैबीच, काठमाडौँ उपत्यकामा हुनसक्ने डुबानलगायत विपद्को सामना गर्न २४सै घण्टा तैनाथी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका सशस्त्रका प्रत्येक गण, गुल्म र सुरक्षाबेसमा करिब चार सय बढी फौजलाई उद्धार सामग्रीसहित तयारी राखिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध