नेभिगेशन
समाज विविध

साउन १ बाट स्वास्थ्य बिमामार्फत बिरामीले दुई लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । 

मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख वृद्धि गरी दुई लाख सुविधा प्राप्त गर्नसक्ने उल्लेख गरेका छन् । 

“कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट आठ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,” मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
 
मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए । उनका अनुसार साउन १ गतेबाट यो निर्णय लागु हुनेछ । 

मन्त्री पौडेलले यसअघि स्वास्थ्य बीमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्ने गरी प्रथम बिन्दु कायम गर्ने तथा हरेक तहमा बिमा सुविधा लिनसक्ने गरी नीतिगत निर्णय गरेका थिए ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध