नेभिगेशन
समाज विविध

सिंहदरबारबाट हराएको गाडी पत्रले फर्कियो, मन्त्री भण्डारीले महन्थलाई सुटुक्क दिएका थिए 

काठमाडौं– प्रशासनिक मुटु सिंहदरबारबाट हराएको श्रम मन्त्रालयको गाडी फर्किएको छ।

मन्त्रालयले प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो हराएको भन्दै गत असार १५ गते गृह मन्त्रालयमा चिठी पठाएको दुई दिनमा गाडी फर्कियो।

त्यो सरकारी गाडी थियो। 

सत्ता समर्थन गरी श्रम मन्त्रालय लिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री शरतसिंह भण्डारीले उक्त गाडी सुटुक्क दिएको पनि खुलेको छ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले हराएको गाडी खोजिदिन भन्दै गृह मन्त्रालयमा चिठी पठाएको विषय सत्य भएको बताए। 

महन्थलाई दिएको विषयमा अहिले पनि मन्त्रालयका अधिकारी बोल्दैनन्। गाडी त फर्कियो तर कहाँ कसले प्रयोग गरेको थियो भन्ने कसैले खुलाउन चाहेका छैनन्। 

तर उच्च स्रोतको दाबीअनुसार उक्त गाडी मन्त्री भण्डारीले चालै नपाई महन्थलाई चढ्नका लागि दिएका थिए। सीमित अधिकारीलाई मात्र गाडी निस्किएको थाहा थियो।

महन्थका सहयोगीहरूले उक्त गाडी मन्त्रालयमा लगेर बुझाएका थिए। 

श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करले यही असार १४ गते मन्त्रालयको एउटा गाडी हराएको विषयमा प्रशासन महाशाखा प्रमुख निश्चलराज पाण्डेसँग सोधपुछ गरेका थिए। सोधपुछपछि पनि गाडी पत्ता नलागेपछि उनले गृह मन्त्रालयलाई चिठी लेख्न लगाएका थिए।

सचिव कृष्णहरी पुष्करको खोजबिनका कारण गाडी फिर्ता आयो। उनले गृह मन्त्रालयलाई चिठि नै लेखेका थिए। 

चिठिमा ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरणअनुसारको चारपांग्र्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुदाँ उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनहुन मिति २०८२–०३–१४ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णयानुसार अनुरोध छ’ लेखिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देखेको हैदराबाद, भोगेको नेपाल