नेभिगेशन
राजनीति

एमाले भावी नेतृत्वमा विद्या भण्डारीः ओलीको ‘इच्छाधारी’ प्रतिस्पर्धी!

मदन भण्डारीको पारिवारिक लिगेसी बोकेकी भण्डारी दुई पटक एमाले उपाध्यक्ष र सोही पटक राष्ट्रपति बनिसकेकी छन्। अब उनले सक्रिय राजनीतिमा पाइला चालेकी छन् र ताल परे नेतृत्व सम्हाल्ने घुमाउरो सन्देश पनि छाडिरहेकी छन्

काठमाडौं– नेकपा एमालेको आगामी नेतृत्वमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चर्चाले अहिले सचिवालय मात्र होइन, पूरै पार्टी पंक्तिमा नै तहल्का मच्चाउन थालेको छ।

मदन भण्डारीको पारिवारिक लिगेसी बोकेकी भण्डारी दुई पटक एमाले उपाध्यक्ष र सोही पटक राष्ट्रपति बनिसकेकी छन्। अब उनले सक्रिय राजनीतिमा पाइला चालेकी छन् र ताल परे नेतृत्व सम्हाल्ने घुमाउरो सन्देश पनि छाडिरहेकी छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको उत्तराधिकारीमा भण्डारीलाई नै अगाडि ल्याउन सक्छन्। बरु, ओलीपछिको नेतृत्वमा फड्को हान्नका लागि महासचिव शंकर पोखरेलचाहिँ कम्मर कसेर लागेका छन्। त्यसका निम्ति उनले भण्डारीलाई रोक्नुपर्ने हुन्छ। 

एक हिसाबले एमालेको आगामी नेतृत्वमा भण्डारीको चर्चा अध्यक्ष ओलीको ‘इच्छाधारी’ पराकम्पन दिने राजनीतिक प्रयोग पनि हो। बिगतमा ओलीले भण्डारीलाई गरेको सहयोग र दिएको अवसरलाई चर्चा गर्दा यस्तै देखिन्छ। 

अखिल नेपाल महिला संघको अध्यक्ष, पार्टीको उपाध्यक्षमा भण्डरीलाई अगाडि बढाउनका लागि ओलीको सहयोग रहेको थियो। ०७२ मा संविधान जारी भएपछि आवधिक निर्वाचन ०७४सम्मको राष्ट्रपतिका लागि ओलीको प्रस्तावअनुसार नै भण्डारी निर्वाचित भएकी थिइन् भने ०७४ देखि ०७९पछिसम्मको अवस्थाको कार्यकालका लागि पनि ओलीको एकल प्रस्तावमा राष्ट्रपति रहिन्। 

यसबाहेक पछिल्लो पटक कांग्रेससँगको सत्ता सहकार्यमा प्रधानमन्त्री नियुक्त हुनासाथ ओलीको पहिलो भेट भण्डारीसँग नै भएको थियो। ओली मण्डिखाटार पुगेका थिए। 

भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहँदा पनि दुईबीच दुई पटक भेट भएको छ। पछिल्लो समय त भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् र त्यहाँ डेढ घन्टा लामो कुराकानी भएको थियो। सो क्रममा पनि एमाले नेतृत्वको उत्तराधिकारीका विषयमा कुराकानी भएको बताइयो। यद्यपि के कुराकानी भयो भने स्पष्ट खुलेको थिएन।

‘ओलीले एमालेको नेतृत्वमा आउने सबै व्यक्तित्वलाई किनारा लगाइसके। माधवकुमार नेपाल, झलनाथ खनालहरु पार्टी विभाजन गरेर बाहिरिए भने बामदेव गौतम झ्यालबाट छिर्छु भन्दा पनि पाएका छैनन्’, ओलीनिकट स्रोतले भन्यो,‘यसको अर्थ हो, नेतृत्व हस्तान्तरण कसलाई गर्ने भन्ने हो। आफूले नसकेका दिन विद्या भण्डारीलाई जिम्मा लगाउने उहाँको चाहना हुन सक्छ।’

भण्डारीलाई रोक्नु अहिले सबैभन्दा अगाडि महासचिव पोखरेल सक्रिय भएका छन्। उनलाई नरोकेको खण्डमा पोखरेल अध्यक्षका दाबेदार हुन पाउने छैनन्। 

यसका निम्ति पोखरेलले एउटा कठोर प्रस्ताव सचिवालयमा गरेका थिए।

‘सचिवालयको बैठकमा उहाँले सिधै पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउनबाट रोक्नुपर्ने व्यवस्था विधानमा नै गर्नुपर्ने धारण राख्नुभयो। अहिलेको व्यवस्थाप्रति मानिसहरूमा नराम्रो धारणा बनेको छ। त्यसैमा दुईपटक राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा एमालेमाथि प्रहार हुन सक्छ । त्यही भएर विधानमा नै व्यवस्था गरेर जाँदा राम्रो हुन्छ।’

यो प्रस्तावलाई अध्यक्ष ओलीले स्वीकार गरेनन्। ‘स्वीकार नगर्नुको अर्थ पनि राजनीतिक लिगेसी र उदारताको विषय हो।’

उपाध्यक्ष सुरेन्द्र पाण्डेले सचिवालय बैठकमा भने, ‘विधानमार्फत कसैलाई रोक्न मिल्दैन, अध्यक्षले भनेको ठीक हो। आउने नआउने उहाँको कुरा हो। हुँदैन भनेर विधानमा लेख्न मिल्दैन । उहाँ आउने कुराले व्यवस्थामा कुनै असर पर्दैन।’ 

एमालेले आगामी २० देखि २२ भदौसम्म दोस्रो विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनभन्दा पहिला एमालेमा विधान पहिलाको नै निरन्तरता दिने कि संशोधन गर्ने भन्नेमा विवाद सुरु भएको छ।

विधान सम्मेलनले पारित गर्ने प्रस्तावले नै भण्डारी ओलीको इच्छाधारी प्रतिस्पर्धी हुने हो कि होइन भन्ने स्पष्ट हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति