नेभिगेशन
राजनीति

ओलीले भने- विद्या भण्डारीले ‘बम’ पड्काउने सपना देखेका छन्, आस नगरे हुन्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने दावी गरेका छन् ।

मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने बताएका हुन् ।

ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् । केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।

‘मदन भण्डारीको जन्म जयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं। तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भने, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’

‘महाकाली सन्धि ठिक छ, कार्यान्वयन हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको दाबी गरेका छन् । मदन भण्डारी फाउन्डेसनले मदन जयन्तीका अवसरमा शनिवार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपथ्र्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो । त्यसमा कुनै दम र सहीपन थिएन ।’

अहिले पनि महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अहिले सबै छन् कार्यान्वयन गर्ने पक्षमा । म पनि छु । सम्भवतः निकट भविष्यमै पञ्चेश्वर परियोजना बन्ने स्थिति बन्छ । यो गर्नै पर्नेछ ।’ त्यही सम्झौताका आधारमा नेपालले बिजुलीको पैसा लिइरहेको त्यस सम्झौता अनुसार दोधारा चाँदनीमा पानी लिइरहेको पनि उनले बताए । ‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ । तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने । केही बेचेको थिएन,’ उनले भने । एमाले देशको स्वाभिमान र देशभक्ति बेच्ने शक्ति नभएको उनले दाबी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति