नेभिगेशन
राजनीति

कर लिने निकाय, करको दर र दायरा बढी भयो : प्रभु साह

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा कर लिने निकाय, करको दर र दायरा बढी भएको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ७६१ वटा सरकारले कर उठाउने र कर तिरेवापत जनताले केही रिटर्न नपाउने अवस्था रहेको बताएका हुन् । उनले यस्तो प्रकारको स्थितिको अन्त्य गरिनुपर्ने बताए ।

‘नेपालमा ७६१ वटा सरकारले कर लिन्छ । करको शीर्षक पनि बढी छ । दर पनि बढी छ । दायरा र निकाय पनि बढी छ । यसरी कर लिने काम गरिराखेको छ कि जनताको रगत पसिना बेचेर तिर्नुपर्ने, त्यसको रिटर्न केही पनि नपाउने स्थिति छ । त्यसको अन्त्य होस् भन्ने म चाहन्छु,’– उनले भने ।

कर हुनेसँग लिनुपर्ने र नहुनेलाई छुट दिनुपर्ने उनले बताए । अहिले एटा पानीको बोटलदेखि लिएर रक्सीको बोटलसम्ममा १३ प्रतिशत भ्याट लगाइएको उनको भनाइ छ । सबै वस्तुमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था अव्यवहारिक रहेको भन्दै उनले सच्याउन आग्रह गरे ।

साथै, उनले नेपालमा वकिल, डाक्टर, म्यानेजर, सिईओहरु करको दायरामै नआएको बताए । ‘नेपालमा ठूलो वर्ग छ, जो करको दायरामै छैन । वकिलहरु, डाक्टरहरु, ठूला–ठूला म्यानेजरहरु, सिईओहरुको कारोबारलाई तुलना गर्ने हो भने कसैले पनि सही ढंगले कर तिरिराखेका छैनन् । तर, तल्लो वर्गको मान्छेलाई रुवाई–रुवाई हामीले कर लिइरहेको स्थिति छ,’– उनले भने ।

उनले किसानले प्रयोग गर्ने र उपभोग गर्ने वस्तुमा कर हटाउन सक्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति