नेभिगेशन
खेलकुद

इतिहास बोकेको थ्री स्टार रेलिगेसनमा!

काठमाडौ - विभागीय टोली एपिएफ फुटबल क्लबले गरेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले निर्णय गर्दा थ्री स्टार क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने भएको छ ।

एपिएफले ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा दिएको उजुरीका आधारमा एपिएफको पक्षमा निर्णय भएको एन्फा स्रोतले जानकारी दिएको छ ।

एपिएफको उजुरी अनुसार थ्री स्टारको उक्त जितलाई उल्टाएर अपिल समितिले जावलाखेललाई जित सुम्पिएको छ । स्रोतका अनुसार एन्फाले अपिल समितिको निर्णयलाई आधार मान्दै क्लबहरुलाई उक्त निर्णय अनुसार इमेल पनि पठाइसकेको छ ।

सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्ध दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै उजुरी दिएको थियो । थ्री स्टारले अन्तिम खेलमा जावलाखेललाई १-० ले हराएपछि एपिएफ रेलिगेसनमा परेको थियो ।

२०८० जेठ २८ गते भएको त्यो खेलको भोलिपल्ट नै एपिएफले दिएको उजुरीको आधारमा एन्फाको अनुशासन समितिले थ्री स्टारलाई २०८० पुषमा कारवाही पनि गरेको थियो ।

अनुशासन समितिले विदेशी खेलाडीद्वय पिटर र मार्टिन्सलाई जनही ५० हजार तथा थ्री स्टार क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर एपिएफ र थ्री स्टार दुवैले टोली कारवाही मान्य नरहेको र निर्णय नै त्रुटीपूर्ण रहेको दाबी गरेका थिए ।

एपिएफका अनुसार उक्त निर्णयले फिफाले नै बनाएको अनुशासन नियमावली पालना नगरेको दाबी रहेको थियो । कुनैपनि खेलमा टोलीले अयोग्य खेलाडी खेलाउँदा उक्त खेलको नतिजा विपक्षी टोलीको जित र त्यससँगै जरिवाना हुनुपर्ने माग एपिएफको थियो ।

स्रोतका अनुसार एपिएफको उजुरी उपर अपिल समितिले निर्णय गर्दै थ्री स्टारको उक्त खेलको नतिजा जावलाखेलको पक्षमा सुम्पिएको हो । यससँगै २६ खेलमा ३२ अंकसहित आठौं स्थानमा रहेर लिग अन्त्य गरेको थ्री स्टार ३ अंक घटेसँगै रेलिगेसनमा पर्ने भएको हो ।

अपिल समितिको निर्णय अनुसार थ्री स्टारको अब २६ खेलमा २९ अंक मात्र हुन आउँछ । यसले २६ खेलमा ३० अंक जोडेको एपिएफ १२ औं स्थानमा उक्लँदा थ्री स्टार भने १३ औं स्थानमा रहेर रेलिगेसनमा पर्ने भएको हो ।

सिजन अन्त्य हुँदा ए डिभिजन लिगको अंक तालिका
अपिल समितिमा हाल अशोक कुमार पोखरेल संयोजक रहेका छन् । समितिमा गोवर्धन सिंह सम्झना उपाध्यक्ष छन् भने सदस्यमा विश्व राज राई र उत्तम थापा छन् । अर्का सदस्य विनोद बस्नेतको भने यसै महिना निधन भएको थियो ।

थ्री स्टारले यसअघि अनुशासन समितिले गरेको कारवाहीमै पनि एन्फाले लिग तोकिएको समयमा सम्पन्न गर्न नसक्दा भिसा प्रक्रियामा ढिलाई भएको बताएको थियो । क्लबले अनुशासन समितिको निर्णयमा असन्तुष्टि जनाउँदै, ‘भिसा प्रक्रिया चलाएकामा प्रकृयागत ढिलाइ भएको हुँदा खेलाडी तथा क्लबलाई जरिवाना गराउने गरी भएको अनुशासन समितिको निर्णय फुटबल खेलको भावना र मर्म विपरीत भएको निर्णय त्रुटिपूर्ण छ ’ भनेर एन्फालाई पत्राचार पनि गरेको थियो ।

तर एपिएफले भने अध्यागमनबाट सम्पूर्ण प्रमाण र विश्व फुटबलमा यस्ता घटनामा भएका निर्णयहरुलाई नजिर राख्दै अपिल समितिले निर्णय गम्भीरतापूर्वक लिनुपर्ने माग राख्दै आएको थियो ।

एपिएफले नेपालमा बस्ने र काम गर्ने कागजको म्याद नै सकिएको अवस्थामा खेलाडीको दर्ता नै वैध नहुने र खेलाडी अयोग्य रहने दाबीका साथ त्यो खेलको नतिजा उल्टाउन माग गरेको थियो ।

एन्फाको अपिल समितिमा अझैपनि यो विषय विचाराधीन रहँदा एन्फाले एपिएफलाई यू-१६ लिगमा सहभागी नगराउने निर्णय लिएपछि एपिएफले केही साताअघि असन्तुष्टि व्यक्त गरेको थियो ।

यसअघि एन्फाले सी डिभिजन लिगमा खेलाडी दर्ताको विषयमा उजुरी पर्दा आरसी३२ क्लबको दुई नतिजा उल्टाएको थियो । त्यसबेला दुई बि डिभिजनमा दर्ता भइसकेको भन्दै आरसी३२ को ४ अंक घटाएको थियो । तर त्यसका बाबजुद आरसी३२ उपविजेता बन्दै बि डिभिजनमा उक्लेको थियो । आरसी३२ को उजुरीमा भने त्यसबेला निर्णय यथावत रहेको थियो ।

त्यस्तै बि डिभिजनमा भने सरस्वती युवा क्लबका धिरेन्द्रबहादुर दर्तालाई लिएर नयाँबस्ती युवा क्लबले गरेको उजुरीमा एन्फाको अनुशासन समितिले सुरुवातमा सरस्वतीको विरुद्धमा निर्णय गरेको थियो । त्यसबेला एन्फाले सरस्वतीले जितेको खेललाई हार सुम्पदै धिरेन्द्रलाई निलम्बन गरेको थियो । पछि अपिल समितिले भने नतिजालाई १-० को जित कायम राख्दै धिरेन्द्रलाई फुकुवा गरेको थियो ।

थ्री स्टारको नतिजा उल्टने निर्णयसँगै अब एपिएफ भने ए डिभिजनमा रहने भएको छ । पुछारको खुमलटार भने रेलिगेसनमा नै रहनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद