नेभिगेशन
राजनीति

बालुवाटारमा बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच बुधबार साँझ बालुवाटारमा दुई पक्षीय छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत शीर्षनेताहरु सहभागी अनौपचारिक बैठकमा संसदमा विचाराधीन कतिपय विधेयकहरु र सरकारले अगाडि बढाउनुपर्ने कामहरुका विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन्।

बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा, गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्का लगायतको उपस्थिति थियो।

‘बैठकमा विशुद्ध सरकारको बिजनेसबारे छलफल भयो’ बालुवाटारको छलफलमा सहभागी एक मन्त्रीले भने, ‘विशेष गरी निजामति सम्बन्धी विधेयकमा देखिएको कुलिङ पिरियड लगायतको विवाद, शिक्षा विधेयक र जलस्रोत विधेयकका बारेमा कुराकानी भयो ।’

सरकारले बजेटमार्फत अगाडि बढाएको हाइड्रोसम्बन्धी नीति र व्यवसायीहरुको गुनासो सम्बन्धमा पनि छलफल भएको सहभागी नेताकाे भनाइ छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधिसभामा छलफल चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको अवरोधका बावजुद सभामुखले बैठक अगाडि बढाइरहेका छन् ।

बुधबार भने सहमतिका लागि दलहरुलाई गृहकार्य गर्ने समय दिएको जनाउँदै सभामुखले बैठक राखेका थिएनन् । तर, सभामुखले समय दिए पनि सत्ता पक्ष र प्रतिपक्षबीच भने छलफल हुन सकेको छैन ।

यसैबीच, विगतमा शिक्षकहरुसँग भएको सहमतिअनुसार सरकार आगामी असार १५ भित्रै शिक्षा विधेयक पारित गर्नुपर्ने दबावमा छ । त्यसैगरी यसै अधिवशेनबाट निजामति कर्मचारीसम्बन्धी विधेयक पारित गर्नैपर्ने सरकारमाथि दबाव छ ।

रास्वपा र राप्रपाले संसद अवरुद्ध पारे पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने दुई बुँदे सहमति गरेर संसदलाई अवरोध नगर्ने सहमति जनाएको छ ।

भिजिट भिसा प्रकरणमा एक महिनाभित्र छानविन समिति बनाउने गृहमन्त्री रमेश लेखकले संसदबाट प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति