नेभिगेशन
राजनीति

संसदको नयाँ क्यालेण्डर : शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कार्यसूचीमा छैन शिक्षा विधेयक

काठमाडौं । प्रतिनिधिसभाले बजेट पारित गर्नका लागि असार १४ गतेसम्मका लागि नयाँ क्यालेण्डर तयार गरेको छ।

बजेट पारित गर्ने गरी यसअघि तयार भएको क्यालेण्डर संसद् अवरुद्ध भएर प्रभावित भएपछि संसद् सचिवालयले नयाँ क्यालेण्डर बनाएको हो। जसअनुसार असार १० गते प्रतिनिधिसभाबाट बजेटको मूल विधेयक (विनियोजन विधेयक) पारित गर्ने नयाँ तालिकामा उल्लेख छ। क्यालेण्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ।

क्यालेण्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ । यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेण्डरमा भएअनुसार आज बैठक बसेको छैन। ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ७ र १४ गते शनिबार पनि बैठक बस्ने क्यालेण्डरमा उल्लेख छ ।

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायत बजेटका अन्य विधेयक असार १४ गते पारित गर्ने प्रस्तावित कार्यतालिकामा उल्लेख छ। विधेयक पारित गर्नुअघि संसद्मा छलफल र मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ।


बजेटसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलका लागि शनिबार समेत संसद्को बैठक राख्नेगरी नयाँ तालिका बनेको हो। साउन १ गतेदेखि कार्यान्वयनमा आउने बजेट सरकारले जेठ १५ गते संसद‍्मा पेस गरेको थियो।

सरकारले असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको भए पनि १४ गतेसम्मको क्यालेण्डरमा यो परेको छैन। संसद्को नयाँ कार्यतालिकामा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको छ। प्रधानमन्त्रीले महिनामा एक दिन संसद्मा सांसदका प्रश्नको जवाफ दिने प्रचलन छ।

Parliament_Calender_7KkF14h7IL-1750240907.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति