नेभिगेशन
सुरक्षा–अपराध

बैंकिङ कसुरमा कैलाली कारागारमा रहेका व्यावसायी पालीको मृत्यु, हत्या भएको परिवारको दाबी

धनगढी– बैंकिङ कसुरमा कैलाली कारागारमा पुगेका डडेल्धुराका ब्यावसायी हरिशसिंह पालीको मृत्यु प्रकरण शंकामा तानिएको छ। उनको हत्या भएको परिवारको दाबी छ।

डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको थियो। 

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा नीलडाम र चोटपटक भेटिएको छ। मृतकका आफन्तले छानबिनको माग गरेका हुन्।

असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल लगिएको थियो। 

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। 

प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्।

प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्दामा दोषी ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए। त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। 

‘कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु भएको’ आफन्तहरूको भनाइ छ। 

मृतकका भाइ हिक्मतले पनि ‘घटना रहस्यमय भएको’ भन्दै सत्यतथ्य छानबिनको माग गरेका बताएका छन्। मृतकका श्रीमती र एक छोरा रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध